काठमाडाैं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमप्रति व्यक्ति तथा समाजको सोचाइमै परिवर्तन ल्याउने गरी सरकारले देशव्यापी अभियान सुरु गर्ने अन्तिम तयारी गरिरहेको बताएका छन्।
काम गर्ने व्यक्ति सम्मानित हुने र काम नगर्ने व्यक्ति अपमानित हुने खालको संस्कृतिलाई बढावा दिन नसकेसम्म श्रमको सम्मान हुने वातावरण नबन्ने भन्दै मन्त्री विष्टले रोजगारी सृजनासँगै श्रमको सम्मानका लागि सरकारले अभियान चलाउन लागेको बताएका हुन्।
आज मन्त्रालयमा केही युवा उद्यमी तथा अभियन्ताहरुसँग छलफल गर्दै मन्त्री विष्टले भने, 'काम सानो ठूलो हुँदैन, काम स्वयंमै सम्मानित हुन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ।' श्रमको सम्मान तथा रोजगारी सृजनाका विषयमा छलफल गर्न मन्त्री विष्टले आज केही युवा उद्यमी तथा अभियन्ताहरुलाई मन्त्रालयमा डाकेका थिए।
दायित्व अभियानले संयोजन गरेको छलफलमा खाली सिसी, टुटल, फुड मारियो, आइरनमेन वर्क्स, डोको, रिसाइक्लर्स, हर्वेदा, किङ्स कलेज, कौसी थिएटर लगायत रंगमञ्च, कृषि तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका तीन दर्जन बढी युवा उद्यमीको सहभागीता थियो।
‘काम नगर्ने व्यक्ति, श्रम नगर्ने व्यक्तिको आर्थिक हैसियत रातारात बदलिने तर काम गर्ने, जोखिम मोल्ने, श्रम गर्नेको जीवनमा परिवर्तन नआउने खालको अवस्थालाइ सरकार बदल्न चाहन्छ’, छलपलमा मन्त्री विष्टले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सृजनासँगै श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउने सरकारको तयारी छ।’
कामलाई सम्मान गर्ने संस्कृतिलाई बढावा दिनका लागि मन्त्रालयले लेखक, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमी, सामाजिक अभियन्ता, अनुभवी प्रतिष्ठित व्यक्तिहरुसँग छलफल तथा अन्तक्रिया गरिरहेको समेत मन्त्री विष्टले जानकारी गराए। सरकारले यतिबेला देशभित्रै सरकारी, निजी, सहकारी या अन्य क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने र रोजगारी सृजना गर्नेलाई प्रोत्साहित गर्नेगरी काम गरिरहेको समेत मन्त्री विष्टले उल्लेख गरे।
छलफलमा सहभागी उद्यमीहरुले श्रमको सम्मानका लागि समाजको बुझाइमै परिवर्तन ल्याउने गरी सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए। सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम तथा न्युनतम पारिश्रमिक लागू हुँदा पनि श्रमप्रतिको सम्मान बढ्ने विश्वास उद्यमीहरुको थियो।
छलफलमा मन्त्री विष्टसँगै मन्त्रालयका सचिव महेश प्रसाद दहाल, सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहाल लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।