डडेल्धुरा- पश्चिम सेती जलविद्युत आयोजना निर्माणको अनुमति पाएको चिनियाँ कम्पनी थ्री गर्जेजले परियोजना क्षेत्रमा आफूले ल्याएका मेसिनरी औजारहरु हेलिकप्टरमार्फत फिर्ता लगेपछि डोटेलीहरुमा थप निराशा छाएको छ।
'म जन्मँदा पश्चिम सेतीको चर्चा थियो। ३५ वर्ष बित्यो तर आयोजना पूरा हुने कुनै सुरसार छैन,' स्थानीय बलबहादुर विकले भने भने, 'आएको सामान पनि फिर्ता जाँदा हेलिकोप्टरसँगै हाम्रा समृद्धिका सपना नि उडेर गए।'
पश्चिम सेती परियोजना डोटीका लागि मात्र नभई सुदूरपश्चिम र राष्ट्रकै गौरवको परियोजना भए पनि केन्द्रीय सरकारले ध्यान नदिँदा निर्माण कार्यमा अवरोध भएको स्थानीयबासी बताउँछन्। राजा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता व्यवस्था परिवर्तन भए पनि परियोजना बनाउने व्यवस्था अझै नआएको उनीहरुको भनाइ छ।
सुदूरपश्चिम प्रदेशको विकासका लागि परियोजनाले महत्वपूर्ण योगदान दिने भए पनि विभिन्न बहाना देखाउँदै करिब ३७ बर्षदेखि चर्चामा रहेको परियोजना अधुरै छ। सेती किनार घर भएका डडेल्धुरा, डोटी, बझाङ र बैतडीका चारै जिल्लाका बासिन्दाले आशा मात्रै देखिइरहे, विकासको अनुभूत गर्न पाएनन्।
विद्युत, सडक, खानेपानी, लगायत आधारभूत आवश्यकता पनि यो क्षेत्रमा परियोजनाकै कारण विस्तार भएका छैनन्। परियोजना बनेपछि बाँध क्षेत्रमा पर्न सक्ने भन्दै यहाँका बासिन्दाले राम्रोसँग घर पनि निर्माण गर्न पाएका छैनन्। धेरै त बसाइँ नै सरिसकेका छन्।
पश्चिम सेतीको इतिहास
सन् १९८१ देखि पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण चर्चा सुरू भएको थियो। त्यति बेला फ्रान्सेली संस्था सोग्रेहले हालको आयोजना स्थलभन्दा ८ किमिमाथि जलाशय निर्माण नगरी बिजुली निकाल्ने योजना बनाएको थियो।
१९८७ मा सोग्रेहले पुनः अध्ययन गरी ३६० मेगावाटको जलाशययुक्त आयोजनाको पहिचान गरेको थियो। ७ जुलाई १९९४ मा नेपाल सरकारको विद्युत विकास केन्द्र र अष्ट्रेलियन बहुराष्ट्रय कम्पनी स्मेकबीच समझदारीपत्रमा हस्ताक्षर भयो।
११ मे १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच सम्झौतामा हस्ताक्षर भएपछि निर्माण हुने आस जाग्यो। २७ जुन १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो।
विभिन्न चरण पार गर्दै आए पनि थ्री गर्जेजले आयोजनाबाट हात झिकेपछि स्थानीय निराश बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।