काठमाडौं– देशभित्रै र नेपाल हुँदै विश्वका विभिन्न देश पुग्ने तथा आउने हवाई यात्रुको संख्यामा वृद्धि भएको छ। सन् २०१७ को तुलनामा सन् २०१८ मा हवाई यात्र गर्ने यात्रुको संख्यामा १२ प्रतिशतभन्दा वढीले वृद्धि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरी सन् २०१८ मा ७१ लाख ९० हजार ९ सय १९ जनाले हवाई यात्रा गरेका छन्। यो संख्या सन् २०१७ मा ६२ लाख ७६ हजार ४ सय २८ मात्रै थियो।
विमानस्थल कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा ८ लाख ५२ हजार १ सय ४४ जना बढीले हवाई यात्रा गरेका छन्।
अन्तर्राष्ट्रियतर्फ साढे ४ लाख बढे
सन् २०१८मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुंदै अन्तर्राष्ट्रिय हवाई यात्र गर्ने संख्या पनि सन् २०१७ को भन्दा बढी छ। सन् २०१८मा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या ४३ लाख ४३ हजार १ सय ६७ पुगेको छ। यो संख्या सन् २०१७ को तुलनामा ४ लाख ५५ हजार ३ सय २२ ले बढी हो।सन् २०१७ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ३८ लाख ८७ हजार ८ सय ४५ थियो।
सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न स्थानमा पुग्ने हवाई यात्रुको संख्या २१ लाख ६८ हजार ६ सय १५ छ। यसैगरी सन् २०१८ विश्वको विभिन्न देशबाट विभिन्न एयरलाइन्स कम्पनीमार्फत नेपाल आउने हवाई यात्रुको संख्या २१ लाख ७४ हजार ५ सय ५२ रहेको छ।
सन् २०१७ मा नेपालबाट बाहिरिने हवाई यात्रुको संख्या २० लाख ८३ हजार १ सय ५० जना र नेपाल भित्रिने हवाई यात्रुको संख्या १८ लाख ४ हजार ६ सय ९५ मात्रै थियो। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २९ वटा एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएका छन्।
आन्तरिकमा पनि बढ्याे
सन् २०१७ को तुलनामा सन् २०१८ मा देशकै विभिन्न स्थानमा हवाई यात्रा गर्ने यात्रुको संख्या पनि वृद्धि भएको छ। सन् २०१७ को तुलनामा सन् २०१८ मा आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ३ लाख ९५ हजार ८ सय २२ ले बढेको छ।
सन् २०१८ मा आन्तरिक हवाई यात्रा गर्नेको संख्या मात्रै २८ लाख ४७ हजार ७ सय ५२ पुगेको छ। यो संख्या सन् २०१७ मा २४ लाख ५२१ हजार ९ सय ३० थियो।
सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देशको विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको संख्या १४ लाख ७२ हजार ५८ पुगेको छ। यो संख्या सन् २०१७ मा १२ लाख ५० हजार १ सय २ मात्रै थियो। यसैगरी सन् २०१८ मा देशको विभिन्न स्थानबाट हवाई यात्रा मार्फत काठमाडौं भित्रिने हवाई यात्रुको सख्या १३ लाख ७५ हजार ६ सय ९४ पुगेको छ। यो संख्या सन् २०१७ मा ११ लाख ३८ हजार ४ सय ८१थियो।
अहिले आन्तरिक उडानमा बुद्ध, यती, श्री, सिम्रिक, सौर्य, तारा, समिट, सिता, मकालु एयर तथा एक दर्जन जति हेलिकोप्टरले हवाई सेवा दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।