काठमाडौं– ‘ग्लोबल थ्रेड एलायन्स’ (जिटिए) उच्चस्तरीय कार्यशील शिखर सम्मेलन तथा ‘क्यापिटल राउन्डटेबल’मा सहभागी हुन प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन्।
अक्टोबर १४ मा ‘द मरिडियन कलेक्टिभ’ले आयोजना गर्ने सम्मेलनलाई रानामगरले सम्बोधन गर्ने कार्यक्रम छ।
दक्षिण तथा दक्षिणपूर्वी एसियाको कपडा उद्योगलाई वातावरणमैत्री बनाउने, कार्बन उत्सर्जन घटाउने, हरित प्रविधिको प्रवर्द्धन गर्ने तथा क्षेत्रीय सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले अक्टोबर १४ मा ‘द मरिडियन कलेक्टिभ’ले आयोजना गरेको सम्मेलनलाई उनले सम्बोधन गर्नेछिन्।
आयोजकका अनुसार सम्मेलनमा नवीकरणीय ऊर्जा, ऊर्जा तथा उत्पादन प्रक्रियाको दक्षता, पानीको पुनःप्रयोग, हरित उत्पादन र जलवायु वित्तका संयन्त्रलगायत विषयमा छलफल हुनेछ। कपडा तथा टेक्सटाइल क्षेत्रमा दिगो विकास, क्षेत्रीय सहकार्य र नीतिगत योगदानका विषयमा अनुभव तथा विचार आदानप्रदान गर्न सांसद रानामगरलाई आयोजक संस्थाले मुख्य सहभागीका रूपमा निमन्त्रणा गरेको बताइएको छ।
विभिन्न क्षेत्रका प्रतिनिधिहरूबीच वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बिहीबार स्वदेश फर्किने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।