काठमाडौँ– नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरुप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताएका छन्।
आजदेखि आफ्नो पदको कार्यभार सम्हाल्दै उनले भने, 'मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यही कामका दत्तचित्त रहन्छु, यही नै मेरो प्राथमिकता हो।'
मुख्य सचिवले रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेवालाई अझ चुस्त एवं व्यवस्थित बनाउन र यसका सांगठनिक पुनरवलोकन गर्न अध्ययन समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरी सदर गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार हेर्ने सचिवको संयोजकत्वमा सो समिति गठन गरिएको हो। सो समितिलाई आफ्नो काम शुरु गरेको दुई महिनाभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको छ।
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री थिए। मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी गृहसचिव थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।