काठमाडौं- नेपाल यात्रा हालै सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्व यात्रामा लाग्ने भएको छ। माघे संक्रान्तिको भोलिपल्ट नेपथ्य फिदिममा प्रस्तुत हुने भएको हो।
माघ २ मा यहाँस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउनेछ।
दसैंलगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुकभर चार सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो। त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो।
स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवर्द्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ।
‘अंग्रेजी क्यालेन्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुने भएको छ।’
ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘ठूला व्यावसायिक आयोजनाहरुको आफ्नै महत्व छन्। मलाई भने साना सहरका प्रिय स्रोताहरुको घेरामा पुग्दा अझ आनन्द लाग्छ।’
गुरुङका अनुसार ‘सुन्दर शान्त नेपाल’ कार्यक्रम अन्तर्गतै नेपथ्यलाई समेत प्रस्तुत गर्न सन् २००५ मा पनि फिदिमको सम्भाव्यता अध्ययन गरिएको थियो। फिदिम पुगेरै निरिक्षण गरे तापनि त्यतिबेला व्यवस्थापकीय कारणले त्यो सम्भव हुन सकेको थिएन। ‘आज त्यो पुरानो सपना पुरा भएको छ,’ गुरुङ भन्छन्, ‘फिदिमवासीका अघिल्तिर प्रस्तुत हुन हामी आतुर छौं।’
सधैंजस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।