इस्लामाबाद– पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको तथा महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन्।
पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो।
पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पीइएमआरए)ले अश्लिल दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ।
निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ।
‘पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय दृश्यका बारेमा व्यापक गुनासा र आलोचना भएकाले अश्लिल लाग्ने दृश्य कटौति गर्न तथा प्रसार नगर्न आग्रह गरिन्छ,’ पीइएमआरएद्वारा जारी वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा लेखिएको छ, ‘भद्दा र अशोभनीय दृश्य, संवाद, विवाहपछिका क्रियाकलाप, हिंसात्मक गतिविधि, अपर्याप्त पोसाकका कारण उत्तेजक अवस्था, बलात्कारका दृश्य, सयन कक्षभित्रको दृश्य, मादक पदार्थ र लागुऔषधको प्रयोग गरेको दृश्य, महिला र पुरुषको अन्तरङ्ग सम्वन्धलगायतले पाकिस्तानी संस्कृति र मूल्यमान्यतालाई असर पर्ने भएकाले त्यस्तो नदेखाउनु हुन आग्रह गरिन्छ।’ रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।