काठमाडौं– सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल भ्रमण गर्ने पर्यटकको यो संख्या इतिहासकै सर्वाधिक हो।
सन् २०१८ मा नेपाल भ्रमणका आएका पर्यटक संख्या सन् २०१७ को भन्दा २४.७७ प्रतिशतले बढी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
सन् २०१७ मा नेपाल भ्रमणका आउने विदेशी पर्यटकको संख्याको तुलनामा सन् २०१८ मा दुई लाख ३ हजार ७ सय ८५ जनाले बढी हो।
सन् २०१८ मा हवाईमार्गबाट ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ पर्यटक नेपाल भित्रिएका छन्।
हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्यामा गत वर्षको तुलनामा २५.१ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ५५.७ प्रतिशत वृद्धि भएको छ भने सार्क मुलुकहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले बृद्धि भएको छ।
सार्क राष्ट्रका देशबाट मात्रै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३ लाख १ हजार ९ सय ६३ पुगेको छ।

त्यस्तै, नेपालका लागि दोस्रो प्रमुख स्रोत बजार चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् जुन २०१७ को तुलनामा ४६.८ प्रतिशतको बृद्धि हो।
यसैगरी थाइ, दक्षिण कोरियाली र जापानी पर्यटकको संख्यामा पनि २०१७ को तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले वृद्धि भएको छ। युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय वृद्धि भएको छ।
संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या क्रमशः १५.६, २३.१ र २१.१ ले वृद्धि भएको छ।
सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भई ९१ लाख ७ हजार ८५ पुगेको छ।
त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यकटकको संख्या १५.१ प्रतिशतले बढेर ३८ लाख ४ सय ८ पुगेको छ।
सन् २०१८ का अन्तिम दुई महिनामा नै करिब ४७ प्रतिशतको पर्यटन आगमन वृद्धि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिको लागि बलियो आधार समेत तय भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।