काठमाडौं- श्रम ऐनको व्यवस्थाका कारण ठूला आयोजनामा आवश्यक करिब ४ सय विदेशी श्रमिकको श्रम स्वीकृतिबाट वञ्चित भएका छन्।
श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधानका कारण नेपालभित्र निर्माणाधीन २ दर्जन ठूला आयोजनामा काम गर्न आएका विदेशी दक्ष श्रमिकको स्वीकृति रोकिएको हो।
श्रम ऐनअन्तर्गत बनेको विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ अनुसार कुनै पनि प्रतिष्ठानमा कुल कामदारको ५ प्रतिशतभन्दा बढी विदेशी कामदार राख्न नपाउने कानुनी व्यवस्था छ।
विदेशी लगानीमा निर्माणाधीन ठूला आयोजनामा आवश्यक दक्ष कामदारले ऐनको प्रावधानअनुसार श्रम स्वीकृति नपाउँदा काम नै प्रभावित भई समस्या सम्पन्न हुन थालेको माथिल्लो तामाकोसीका प्रवक्ता डा गणेश न्यौपाने बताउँछन्। ठूला विदेशी आयोजनाका लागि कामदारको सीमा तोक्न र श्रम स्वीकृति दिन सरकारसँग उनले आग्रह पनि गरे। 'ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा पाएका आयोजनाले मागअनुसार विदेशी कामदार राख्न पाउनुपर्ने प्रावधान बनाउनुपर्छ,' उनले भने।
निर्देशिकामा नेपाल सरकारसँग भएको सम्झौताबमोजिम श्रम इजाजत लिनु नपर्ने अवस्थाबाहेक कुनै पनि रोजगारदाताले कुल श्रमिकको ५ प्रतिशतभन्दा बढी विदेशी श्रमिकलाई काममा लगाउन पाउने छैन भनी उल्लेख गरिएको छ।
विभागका उपसचिव उद्धव रिजालले भने सरकारले श्रम ऐनमा भएको व्यवस्थाअनुसार मात्र विदेशी नागरिकलाई श्रम स्वीकृति जारी गर्न मिल्ने बताए। एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी र दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनी श्रम स्वीकृतिका लागि निवदेन दिएर अनुमतिको पर्खाइमा रहे पनि ऐनको परिधिरअनुसार अनुमति दिन नमिल्ने रिजालको भनाइ छ।
ती कम्पनीले करिब ४ सय विदेशी कामदारका लागि अनुमति माग गरेका छन्।
मध्य-भोटेकोसी, रसुवागढी, त्रिशूली, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजिज, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्सले समेत नेपालमा दक्ष प्राविधिक कामदार नपाएर विदेशी राख्न अनुमति माग गरेका छन्। हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले अनुभवी एवं दक्ष प्राविधिक र पाइलट विदेशबाटै माग गर्ने गरेका छन्। चीनको हुवावे टेक्नोलोजीले समेत नेपालमा लागि आवश्यक प्राविधिक राख्न अनुमति मागेका छन्। तर विभागले स्वीकृति दिएको छैन।
सरकारले निर्माणाधीन अवस्थामा रहेका परियोजना र एयरलाइन्सका लागि अत्यावश्यक प्राविधिक तथा नेपालमा नभएका जनशक्तिका लागि श्रम अनुमति दिनुपर्ने ती कम्पनीको भनाइ छ।
विभागबाट सन् २०१८ मा १ हजार ९ सय ७६ विदेशी कामदारले श्रम स्वीकृति लिएका छन्। जसमा १ हजार १ सय १० जना विदेशी कामदारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।