काठमाडौं– नेपाल स्टक एक्चेन्स (नेप्से)मा मंगलबार पनि नेपाल बैंकको कारोबारमा उत्साह देखिएको छ। बैंकले बोनस सेयर दिने हल्लासँगै सेयर कारोबार बढेको हो।
बैंकले गत आर्थिक २०७४/०७५ को नाफाबाट लगानीकर्तालाई १८ प्रतिशतसम्म बोनस सेयर दिने हल्ला चलेपछि लगानीकर्ता लोभिएका हुन्।
मंगलबार बैंकको ८ करोड ८६ लाख ६१ हजार ३ सय रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सोमबार पनि बैंकको ८ करोड ५९ लाख २७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो।
बैंकले लामो समयदेखि सेयरधनीलाई लाभांश दिएको छैन। लामो समयदेखि दायित्व भुक्तानी बाँकी रहेको बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा दायित्व भुक्तानी सकिएको थियो। उक्त समयदेखिको नाफालाई आधार मानेर बैंकले लाभांश दिन सक्छ।
यद्यपि बैंकको सेयर मूल्य मंगलबार प्रतिकित्ता १ रुपैयाँले घटेर ३ सय ७ रुपैयाँमा कारोबार रोकिएको छ।
नेप्से परिसूचकमा समान्य गिरावट
मंगलबार नेप्से परिसूचक शून्य दशमलव ४० अंकले घटेर ११ सय ७७ दशमलव ०७ को बिन्दुमा आइपुगेको छ। १ सय ६० कम्पनीको ३४ करोड २७ लाख ८६ हजार ५ सय ९६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
मंगलबार लघुवित्त समूह अन्तर्गतका कम्पनीहरुले सर्वाधिक कमाएका छन्। आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब ९ दशमलव ९९ प्रतिशतले बढेर ७ सय ६० रुपैयाँमा कारोबार रोकिएको छ।
त्यस्तै चौतारी लघुपवित्तको सेयर मूल्य करिब ११ रुपैयाँले बढेको छ। यता सर्वाधिक गुमाउनेमा पनि लघुवित्त समूह अन्तर्गतको एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँले घटेको छ।
निर्जीवन बिमा समूह, विकास बैंक समूह, माइक्रोफाइनान्स समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूह बाहेकका समूहमा गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।