काठमाडौं- सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्म राजस्व संकलन ४० प्रतिशतले बढ्ने अनुमान गरेको छ। तर, राजस्वको ठूलो हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाको राजस्व संकलन उत्साहजन रुपमा वृद्धि नहुँदा लक्ष्यअनुसार राजस्व संकलन नहुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकको कर संकलनमा उत्साह छैन। ठूला करदाता कार्यालयका एक उच्च अधिकारीले पुस मसान्त सकिन ५ दिन बाँकी रहँदा बैंकको करमा संकलन उत्साहजनक नदेखिएको बताए। उनले ६ महिनामा बैंकहरुको कर करिब १५ देखि २० प्रतिशतले मात्रै बढ्ने जानकारी दिए। भने, ‘यस पटक बैंकको करमा उत्साह छैन। त्यसैले सरकारको लक्ष्य अनुसार राजस्व संकलन गर्न मुस्किल छ।’
बैंकको नाफा घट्ने
नाफाको २५ प्रतिशत आयकर सरकारलाई तिर्नुपर्ने कानुनी व्यवस्था छ। जसकारण बैंकहरुको राजस्व संकलन उत्साहपूर्ण रुपमा नबढेसँगै बैंकको नाफामा पनि उत्साहपूर्ण वृद्धि नहुने देखिएको छ।
यद्यपि बैंकहरुले १० प्रतिशत घरबहाल कर, १५ प्रतिशत ब्याजकर र ५ प्रतिशत शिक्षा शुल्क तिर्दै आएका छन्।
गत आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमा ५ वाणिज्य बैंक रहेका थिए। वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नबिल बैंकले २ अर्ब ६८ करोड रुपैयाँ कर तिरेको थियो। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४६ करोड रुपैयाँ कर तिरेको थियो। उच्च कर तिर्नेमा एभरेष्ट बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रहेका थिए।
त्यसैले, वाणिज्य बैंकले तिर्ने करलाई ठूला करदाता कार्यालयले उच्च महत्वका साथ हेर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।