लुम्बिनी- लुम्बिनीमा अन्तर्राष्ट्रिय ट्राभल मार्टको तयारी थालिएको छ। पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्स (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा पुस २६, २७ र २८ गते ( जनवरी १०, ११ र १२ ) बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम) हुन लागेको हो। उक्त ट्राभल मार्टको मुख्य उद्देश्य नेपालबाहिर र भित्रका अलगअलग बुद्धिस्ट सर्किट बनाई पर्यटन प्याकेज घोषणा गर्ने रहेको नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताए।
अहिलेसम्म पर्यटन व्यवसायीहरुले आआफ्नो ढंगले स्वदेशी र विदेशी बुद्धिस्ट साइट जोडेर पर्यटन प्याकेज बनाइरहेका छन्। उक्त कार्यक्रमसँगै देशभित्र रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्राम सहितको आन्तरिक बुद्धिस्ट सर्किटको प्याकेज बन्नेछ।
यसैगरी रुपन्देही, कपिलवस्तु र नवलपरासीको बुद्धिस्ट सर्किटसहित भारतको बोधगया, राजगीर, सारनाथ र कुशिनगर जोडेर बाह्य सर्किट बनाउने तयारी थालिएको हो। यसका अतिरिक्त नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, बर्मा, भियतनाम र चीनका महत्वपूर्ण साइट जोडेर सिल्क रुटका रुपमा विकास गरिँदैछ।
यसरी विश्वमै महत्वपूर्ण गन्तव्य बन्दै गएको बुद्ध सर्किटको प्रचारप्रसारका लागि हुन लागेको बिआइटिएमले लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा बुद्धिस्ट साइटको प्रवेशद्वारको रुपमा लुम्बिनीलाई चिनाउन बिआइटिएम फलदायी हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘हाम्रो देशका पर्यटन व्यवसायी र विदेशी पर्यटन व्यवसायीबीच सिधा सम्पर्क गर्न गराउन पनि यसले सघाउनेछ।’
नाट्टाका वरिष्ठ उपाध्यक्ष एवं बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट मूल आयोजक समिति सदस्य सचिव अच्युत शर्मा गुरागाईले पहिलो पटक लुम्बिनीमा हुन लागेको मार्टले पर्यटन बजारमा महत्वपूर्ण योगदान दिने बताए। पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउनसमेत कार्यक्रमले सहयोग गर्ने उनको भनाइ छ।
बुद्धिस्ट सर्किटलाई विश्वबजारमा चिनाउन र मार्केटिङ गर्न महत्वपूर्ण सहयोग गर्ने नाट्टा प्रदेश ५ का अध्यक्ष विष्णुप्रसाद शर्माको भनाइ छ। उनले भने, ‘अहिलेसम्म अधिकांश पर्यटक बोधगया, कुशिनगर गएर अन्तिममा लुम्बिनीमा आउने प्रचलन छ। यो भ्रमण प्याकेज उल्टो छ। हामी कार्यक्रममार्फत सुरुमा लुम्बिनी भ्रमण गराएर अन्तिममा बोधगया सारनाथ जानेगरी प्याकेज बनाउन चाहन्छौं।'
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २६ गते लुम्बिनीमा उद्घाटन गर्ने कार्यक्रममा विदेशी क्रेता ५० जना र स्वदेशीविदेशी बिक्रेता ५० गरी एक सयको सहभागिता रहनेछ। यसका लागि हालसम्म १५ देशबाट ५० वटा निवेदन प्राप्त भइसकेको नाट्टा महासचिव रमेश थापाले जनाए। त्यसमध्ये हालसम्म उत्कृष्ट १० छनोट गरिएको छ। यीमध्ये अन्तर्राष्ट्रिय ट्राभल्स एजेन्सीलाई बढी प्राथमिकता दिइएको छ।
बीटुबी सेसनहरु भैरहवास्थित होटल टाइगर प्यालेसमा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित अधिकारीहरुको सहभागिता रहने जनाइएको छ।
कार्यक्रम सम्पन्न गर्न दुई करोड आठ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन्। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल संघ युएटिएएका अध्यक्ष सुनिल कुमार, भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र अस्ट्रेलियाका स्टेभ क्यारन्सले पर्यटन क्षेत्रका बारे सम्बोधन गर्ने नाट्टाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।