काठमाडौं– बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा बहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न निर्देशन दिइएको छ।
संसदको लेखा समितिको निर्देशनमा भनिएको छ–
निगमको विनियमावलीको दफा २३६ (२) अनुसार बद्नियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अघि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक कंसाकारले बद्नियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।
तत्कालीन निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका कृष्णप्रसाद देवकोटाले महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदन २०७४ ले विमान खरिद नियम संगत नभएको भनी जनाएको अवस्थामा पनि छानबिन नगरी खरिद प्रक्रियालाई निरन्तरता दिएको आरोप लगाइएको छ।
समितिको सिफारिस र निर्देशनमा भनिएको छ–
संस्कृति पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्रालयका तत्कालीन सचिव, लेखा उत्तरदायी अधिकृत तथा वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष रहेका कृष्णप्रसाद देवकोटाले महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदन २०७४ ले विमान खरिद नियमसंगत नभएको भनी जनाएको अवस्थामा पनि छानबिन नगरी उल्टै विनियमावलीको दफा २३६ (२) अनुसार विमान खरिद प्रक्रिया निरन्तरता दिई अन्तिम किस्ताका रकमहरु समेत भुक्तानी गरेको देखिएकाले तत्काल निलम्बन गरी अख्तियारको दुरुपयोग गर भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिन गरी कानुन बमोजिम हदैसम्मको दण्ड सजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।
समितिले अनियमितताको छानबिन गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन पनि दिएको छ।
यस्तै पूर्व र बहालवाला मन्त्रीहरुले नैतिक जिम्मेवारी लिए पुग्ने लेखा समितिले सिफारिस गरेको छ। राजन केसीको संयोजकत्वमा गठित अध्ययन उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययन पश्चात संसदको सार्वजनिक लेखा समितिले पूर्व र बहालवाला मन्त्रीहरुलाई नैतिक जिम्मेवारी लिएर पन्छिने बाटो खुलाएको हो।
सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।