काठमाडौं- वाइडबडी जहाज खरिद प्रकरणमा पूर्व र बहालवाला मन्त्रीहरुले नैतिक जिम्मेवारी लिए पुग्ने लेखा समितिले सिफारिस गरेको छ।
राजन केसीको संयोजकत्वमा गठित अध्ययन उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययनपश्चात् संसदको सार्वजनिक लेखा समितिले पूर्व र बहालवाला मन्त्रीहरुलाई नैतिक जिम्मेवारी लिएर पन्छिने बाटो खुलाएको हो।
प्रतिवदेनमा बहालवाल पर्यटनमन्त्री रवीन्द्र अधिकारी र दुई पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत कारबाही गर्न उपसमितिले सिफारिस गरेको थियो।
समितिको निर्देशन-
वाइडबडी विमान खरिद सम्बन्धमा मन्त्रालय र निगमबाट प्राप्त विवरण तथा छलफलका आधारमा तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र हालका बहालवाला मन्त्री रवीन्द्र अधिकारीको संलग्नता सम्बन्धमा उपसमितिले निजहरुलाई नैतिक जिम्मेवारी लिन र कानुनसम्मत कारबाही सिफारिस गरेको विवरण समितिमा पेस भएकोमा, महालेखा परीक्षकको प्रतिवेदनको संपरीक्षण र बेरु फर्स्यौट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ को विपरीत हुनेगरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेष्ठ सतर्कता नअपनाएको देखिँदा निजहरुले नैतिक जिम्मेवारी लिन र मन्त्रीहरुको कार्यक्षेत्र तथा कार्यसर्तको सम्बन्धमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।