काठमाडौं– टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दा सर्वोच्चमा पेशी चढेको छ। प्रतिनिधिसभाको सपथ लिएको केही दिनमै चौधरीमाथिको कर्तव्य ज्यान मुद्दा पेशीमा चढेको हो।
कैलाली क्षेत्र नम्बर १ बाट राजपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए। लामो समय फरार रही आत्मसर्मपण गरेका चौधरीलाई पुस १९ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उनलाई सपथ गराएका हुन्।
आजको सुनुवाइपछि सर्वोच्चले धरौटी वा तारेखमा रिहा गरेमा उनी संसद भवन जान पाउने बाटो खुल्ला हुने देखिन्छ। यदि जिल्ला अदालतको आदेश सदर गरेमा उनी थुनामै रहनुपर्नेछ।
डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका उनलाई सपथका लागि जेलबाट सिंहदरबार लगिएको थियो।
यसअघि उनले संसदको प्रमाणपत्र पाएका थिएनन्। प्रमाणपत्रका लागि उनकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आएकी थिइन्। प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दासमेत दायर गरेका थिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित ८ जनाको हत्या भएको थियो। सो घटनाको मुख्य दोषी चौधरीलाई देखाइएपछि उनी फरार भएका थिए। भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए।
राजपा नेपालले पटकपटक प्रधानमन्त्री केपी ओलीलाई चौधरीको सपथका लागि दबाब दिँदै आएको थियो। सोही दबाबका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।