काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि जित्ने लक्ष्य राखेको थ्रीस्टार क्लबले अन्तत: तेस्रो स्थानमा रहेर लिग सकेको छ। थ्रीस्टारले आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलले पराजित गर्यो।
लिगको शीर्ष टिम मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब र संकटा क्लबसँग थ्रीस्टार पराजित हुँदा उपाधि जित्ने अभियान सफल हुन सकेन।
लिगको सबै खेल सकेपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले नेपालको खेलस्तर खस्किएको विश्लेषण गरे।
यो पनि- थ्रीस्टारको तेस्रो स्थान पक्का, मच्छिन्द्रलाई हराउँदै आर्मी बन्यो चौथो
'लिग सफल भयो। सबै टिमले आ–आफ्ना पोजिसन हात पारे। नेपालको फुटबलको स्तर खस्किएको हामीले मान्नु पर्छ। किनभने लिगको शीर्ष टिमले पनि पुछारको टिमलाई डोमिनेट गरेर खेल्न सकेनन्, ' उनले भने।
'लिगमा जित हार हुनु स्वभाविक हो। हामीले वरीयतामा गर्व गर्नु पर्ने अवस्था छैन। दु:खको कुरा नेपाली खेलाडीको स्तर एकदम खस्किएको छ। लिगमा डेढ-२ सय जना खेलाडी खेले। राष्ट्रिय टिमका खेलाडी र भर्खरका जुनियर खेलाडीको प्रदर्शनमा पनि त्यति धेरै फरक छैन।'
उनले थ्रीस्टार तेस्रो भएकोमा पनि खुसी व्यक्त गरे। 'उपाधि जित्ने लक्ष्य राखेका थियौं। तर तेस्रो भएका छौं। यसमा हामी खुसी छौं,' उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।