काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्रीस्टार क्लबको तेस्रो स्थान पक्का भएको छ। थ्रीस्टारले आइतबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलले हराउँदै तेस्रो स्थान पक्का गरेको हो।
थ्रीस्टारका लागि खेलको १८ मिनेटमा बुद्धराज लिम्बुले पहिलो गोल गरे। उनले रञ्जन विष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका थिए।
खेल सकिन १ मिनेट बाँकी छदा थ्रीस्टारले अग्रता दोब्बर पार्यो। उसका लागि ८९ मिनेटमा रञ्जनले वान भर्सेस वानमा गोल गरेका थिए।
जितसँगै आफ्नो सबै खेल सकिदा थ्रीस्टारले २६ अंक जोड्न सफल भयो। एक खेल कम खेलेको संकटाले २८ अंक जोडेर दोस्रो स्थानमा पक्का गरिसकेको छ। मनाङ मर्स्याङ्दी क्लबले २ खेल अघि नै लिगको उपाधि जितिसकेको छ। मनाङले लगातार १२ खेलमा जित हात पारिसकेको छ।
यता दिनको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र क्लबलाई ३–० गोलले हराएर चौथो स्थान पक्का गर्यो।
आर्मीका लागि टंक बस्नेतले खेलको २८ मिनेटमा पहिलो गोल गरे। ६२ मिनेटमा भरत खवासले आर्मीको अग्रता दोब्बर पारेका थिए। भरतले ७४ मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
जितपछि आर्मीले १३ खेलबाट २५ अंक जोड्यो। अन्तिम खेल खेल्न बाँकी पाँचौ स्थानको एपिएफको २० अंक मात्र भएकाले आर्मीको चौथो स्थान पक्का भएको हो।
यता हारसँगै मच्छिन्द्रले आगामी सिजनमा अंक काटिने पक्का भएको छ। रेलिगेशनको व्यवस्था नभएको लिगमा पुछारको एनआरटीको खेलपछि अन्तिम २ स्थानमा रहेने टिमको टुंगो लाग्नेछ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।