काठमाडौं- सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले उमेर हदका कारण अवकाश पाएपछि रिक्त संख्या चार पुगेको हो। शनिबारसम्म कार्यकाल रहेका घिमिरेको बिदाइ शुक्रबार नै भएको हो।
उनीभन्दा केही दिनअघि मात्र प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुुस १७ गते अवकाश पाएका थिए। लामो समयदेखि सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्त हुन सकेको छैन।
घिमिरेको अवकाशपछि अब सर्वोच्चमा प्रधानन्यायाधीशसहित १७ जना मात्र न्यायाधीश छन्।संवैधानिक व्यवस्थाअनुसार सर्वोच्चमा प्रधानन्यायाधीश बाहेक २० स्थायी न्यायाधीश रहने व्यवस्था छ।
दुई वर्षअघि उच्च अदालतका पाँच मुख्य न्यायाधीशलाई सर्वोच्च ल्याइएको थियो। २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएका हुन्।
अवकाशको अन्तिम समयमा भ्रष्टाचारलगायतका मुद्दामा घिमिरेले गरेको आदेशहरू विवादित बनेका बनेका छन्। राजश्व सम्बन्धी केही रिटहरूमा जारी अन्तरिम आदेश समेत विवादमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।