काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख कृष्णबहादुर महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नदिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी समेत दिएका छन्।
कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षीलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एकपक्षीय व्यवहार नसच्चिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका हुन्।
प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली काँग्रेसका सांसदहरूले प्रश्न गर्न अनुमति दिन सभामुख समक्ष माग गरेका थिए। तर सभामुख महराले अनुमति नदिएको भन्दै काँग्रेस सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
सदन स्थगित गएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे।
'प्रधानमन्त्री ओलीले तथ्यांक नै तोडमोड हुने गरी वक्तव्य दिनुभएको छ। सो सम्बन्धमा प्रश्न गर्न खोज्दा सभामुखले सरकारको बचाऊ गर्नु भएको छ,' थापाको आरोप थियो।
सांसद थापाले सभामुखले कुनै एक पार्टीको पक्ष लिएर प्रश्नका लागि अनुमति दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाएका थिए।
सभामुख महरालाई कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहन समेत कांग्रेसले आग्रह गरेको छ।
एक अर्को प्रसंगमा थापाले वाइडबडी विमान खरिद प्रकरणमा सरकार अत्तालिएको टिप्पणी गरेका थिए।
नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद प्रकरणबाट अत्तालिएको दाबी गर्दै शाही आयोगको जसरी सो सम्बन्धमा जाँचबुझ समिति गठन गरेको उल्लेख गरेका थिए।
संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिलाई गालीगलौजको भाषा प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसदको मर्यादालाई कायम राख्न नसकेको आरोप समेत लगाएका थिए।
प्रधानमन्त्री ओलीले उपसमितिले समितिमा छलफल नै नगरी सो सम्बन्धि प्रतिवेदन बाहिर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्रीको सो असन्तुष्टिले संसदीय समितिको मर्यादालाई उलंघन गरेको काँग्रेस नेता थापाको आरोप छ।
थापाले वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा सबै कुरा बुझेर आवश्यक निर्णय लिन संघीय संसदको सार्वजनिक लेखा समितिलाई पनि आग्रह गरे।
उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा करिब ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि दोषी देखिएको निष्कर्षसहितको प्रतिवेदन तयार पारी समितिलाई बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।