काठमाडौं- स्काई ओभरसिजका मालिक बलबहादुर तामाङविरुद्ध १९ करोड ५८ लाख रुपैयाँ कर छली गरेको आरोपमा मुद्दा दर्ता भएको छ।
आन्तरिक राजस्व अनुसन्धान विभागले तामाङविरुद्ध करछलीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।
तमाङविरुद्ध विभागले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी विगो रकम र १३ कराेडभन्दा बढी जरिवानासहित ३ वर्षको कैद हुनुपर्ने भन्दै मुद्दा दर्ता गराएको छ।
तामाङले भने आफूविरुद्ध ऐनविपरित हुनेगरी मुद्दा दायर गरिएकाे दाबी गरेका छन्। 'नि:शुल्क रुपमा कामदार पठाउने सरकारकाे नीति छ। तर, विभागले फ्रि भिसा र टिकटमार्फत विदेश पठाइएका कामदारकाे रसिद खाेजेर मुद्दा दर्ता गर्नु नै गलत छ', तामाङले भने।
'विभागमा दिएकाे बयान, बैंक खाताको विवरण, नियन्त्रणमा लिएका कागजात तथा अन्य प्रमाणहरुको अध्ययन एवम् विश्लेषणको आधारमा स्काई ओभरसिज सर्भिसेज प्रालिबाट वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्म जम्मा गराएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाे छ', अदालतमा दर्ता गरिएकाे मुद्दामा भनिएकाे छ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा ४ (क) र (ख)बमोजिमको कसुर गरेको देखिएकाले आयकर ऐन, २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २(१) बमोजिम करयोग्य आयमा २५ प्रतिशतको दरले दाखिला गर्नुपर्ने आयकर, सोही ऐनको दफा १२०(ख) बमोजिम शुल्क, दफा ११८ र ११९ बमोजिम ब्याज समेतले हुनेगरि ६ कराेड ५२ लाख ४७ हजार ८ सय ५७ रुपैयाँ राजस्व चुहावट गरेकाे उल्लेख छ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा (२) (छ १) बमोजिम चुहावट भएकाे रकम बराबरकाे बिगो रकम असुल गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष सम्म कैद सजाय मागदावी गरी काठमाडाैं जिल्ला अदालतमा आज मुद्दा दायर गरिएको हाे।
तामाङले साउदी, कतार, मलेसिया र बहाइनमा कामदार पठाउँदै आएका छन्। विशेषगरी उनले दुबईका क्यारिफाेर, म्याकडाेनल्स लगायतका कम्पनीहरुमा कामदार पठाउँदै आएका थिए।
पछिल्लाे २० वर्षमा तामाङले १ लाख ४४ हजार ७ सय ४७ कामदार पठाएकाे खुलेकाे छ। कामदार पठाउँदा उनले प्रत्येक कामदारबाट ३५ देखि ५० हजार रुपैयाँ तथा राेजगारदाता कम्पनीबाट प्रति कामदार ४ सय अमेरिकी डलर लिँदै आएका थिए।
उनी वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।