काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडीबारे सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन सञ्चारमाध्यममा गएकोबारे आक्रोश पोखेका छन्। ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय समितिको सम्पति सार्वजनिक लेखा समितिमा पुग्नुअघि नै पत्रपत्रिकामा पुगेकोप्रति आक्रोश व्यक्त गरेका हुन्। बोकेर जहाँ पुर्याउनुपर्ने, त्यहाँ नपुर्याई बीचैमा खसालिएका गैर-जिम्मेवार अभिव्यक्ति वा क्रियाकलापको वाहवाही भएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन्।
‘लेखा समितिले आफूलाई बुझाउन उपसमिति बनायो। तर उपसमितिले आफूलाई बुझाउनभन्दा पहिले अन्तै बुझायो, कि के भयो?,’ प्रधानमन्त्री ओलीले भने, ‘सार्वजनिक समितिको सम्पति कसरी पत्रपत्रिकामा पुग्यो? कुनै सत्यतथ्य बाहिर गयो भन्ने होइन। सत्य तथ्य बाहिर जानु ठीक छ। तर, जाने प्रक्रिया हुन्छ नि! लुकाउनका लागि त्यो प्रतिवेदन त थिएन। तर, त्यसलाई सार्वजनिक गर्ने पनि तरिका होला।’
प्रधानमन्त्री ओलीले उपसमिति नै सर्वेसर्वा नहुने पनि स्पष्ट पारेका छन्। उपसमितिको काम उक्त प्रतिवेदन समितिलाई बुझाउने भएकाले 'बाघको जुँगा उखेलें' भन्ने ढङ्गले वाइडबडीबारे प्रचार भएको प्रधानमन्त्री ओलीको तर्क छ। 'बाघको जुँगा उखेलें भनेर प्रचार गर्नुअघि हातमा भएका रौं बाघका जुँगा हुन कि होइनन् त्यसबारे समिति वा संसदले स्पष्ट पार्छ,' प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओलीले प्रतिवेदन सार्वजनिक गर्न हतारो गरेर आफ्नो कामकारबाहीको गम्भीर उत्तरदायित्व निर्वाह गर्नबाट उपसमिति चुकेको आरोप लगाए। सार्वजनिक लेखा समितिलाई बुझाउनु अघि नै सो प्रतिवेदन बाटा-बाटामा खसेको प्रधानमन्त्री ओलीको तर्क छ।
आफ्नो सरकारको बचाउ गर्दै प्रधानमन्त्री ओलीले वाइडबडी ल्याउने प्रक्रिया आफू प्रधानमन्त्री हुनुअघिकै भएको दाबी समेत गरेका छन्। उनले यसबारे प्रतिपक्षीले पनि छानबिनको माग गरिसकेकाले यस विषयमा सरकारले गम्भीर छानबिन गर्ने उल्लेख गरे।
‘बाइडबडीका सम्बन्धमा गम्भीर छानबिन हुन्छ। दोषीमाथि कारबाही हुन्छ। कोही पनि उम्किन पाउँदैन। समितिले पनि त्यसै अनुसार छलफल गरोस्। संसदले छानबिन गरोस्। उच्चस्तरमा अरु केही गर्नु छ भने संसदले गरोस्। अख्तियार अनुसन्धान आयोगलाई पनि म भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारको तर्फबाट सरकारले आवश्यक छानबिन उच्चस्तरबाट गराउँछ।’
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का निर्णय परिपक्क भएपछि सार्वजनिक गर्ने अभ्यास सुरु गर्दा कतिपयले ‘सूचना लुकाउने प्रयास गरेको तर सो प्रयास असफल भएको’ भनेर किलकिलेहिन मानिसहरुका कुराहरुको वाहवाही भएको आरोपसमेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।