काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वाइडबडी जहाज अनियमितताबारे छानबिन गर्न बनेको उपसमितिले बहालवाला दुई सचिव, तत्कालीन एक सचिव र निगमका महाप्रबन्धकलाई बर्खास्त गरी भ्रष्टाचार कारबाही अघि बढाउन सिफारिस गरेको छ।
उपसमितिले आज सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाउँदै हालका गृहसचिव प्रेमकुमार राई र पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन सचिव शंकरप्रसाद अधिकारी र निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई तत्काल निलम्बन गरी भ्रष्टाचार अभियोगमा कारबाही थाल्न सिफारिस गरेको हो।
यस्तै, तत्कालीन पर्यटमन्त्री जितेन्द्रनारायण देव र जीवनबहादुर शाही तथा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कानुनी प्रक्रिया अन्तर्गत कारबाही गर्न उपसमितिले निर्देशन दिएको छ। जहाज खरिदमा सहभागी अन्य सबै व्यक्तिलाई कारबाही गर्न भनिएको छ।
उपसमितिले तयार पारेको प्रतिवदेनमा निगमले सार्वजनिक खरिद ऐन लगायत अन्य विधि र प्रक्रिया मिचेर वाइडबडी खरिदमा ४ अर्बभन्दा बढी अनियमितता भएको निष्कर्ष निकालिएको छ।
समितिका सदस्य राजन केसीको संयोजकत्वमा गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रकम हिनामिना गरेको ठहर गरेको हो।
वाइडबडी अनियमितताबारे छानबिन गर्न लेखा समितिले केसीको गत मंसिर २६ गते ७ सदस्यीय उपसमिति गठन गरेको थियो। समितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीप यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा रहेका छन्।
संसदीय उपसमितिले तयार पारेकाे प्रतिवेदन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।