काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत विभागीय डर्बीमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा सशस्त्रले पुलिसलाई ४–१ गोलले पराजितग गरेको हो।
२०औं मिनेटमा सशस्त्रका राजेन्द्र रावलले डिबक्स बाहिरबाट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। २८ मिनेटमा सशस्त्रले अग्रता दोब्बर पार्यो। हरि कार्कीले सशस्त्रका लागि दोस्रो गोल गरेका थिए।
पहिलो हाफ सकिन २ मिनेट बाँकी छदा सशस्त्रले तेस्रो गोल गर्न सफल भयो। युवराज खड्काले हेडमार्फत ४३ मिनेटमा गोल गर्दा सशस्त्र पहिलो हाफमै सहज स्थितिमा पुग्यो। पुलिसका अजित भण्डारीले २ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि खेल ३–१ को अवस्थामा आयो।
८५ मिनेटमा युवराजले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे। जितसँगै सशस्त्र १२ खेलबाट २० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ। १८ अंक जोडेको पुलिस छैटौं स्थानमा झरेको छ।
अर्को खेलमा सरस्वती युवा क्लबले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै लिगमा चौथो जित हात पार्न सफल भए। सरस्वतीका मनिष थापाले खेल अन्तिम ४ मिनेट बाँकी छदा फ्रिकिकमार्फत बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा थपिएको पाँच मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा फ्रान्सिसले गोल गरेपछि सरस्वतीले रोमाञ्चक जित हात पार्यो। त्यसअघि खेलको १४ मिनेटमा सजिन थापामगरले गोल गरेर च्यासललाई अग्रता दिलाएका थिए।
लिगमा चौथो जित हात पारेको १२ खेलबाट १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। १५ अंकसहित च्यासल आठौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।