काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो सत्रको खेल सकेका छन्। मेलवर्न स्टार्सका मुख्य बलर सन्दीपले मंगलबार मेलवर्न रेनेगेड्सविरुद्ध चौथो खेल खेल्दै पहिलो सत्रका खेल सकेका हुन्।
सन्दीपले बिबिएलमा पहिलो सत्रका चार खेल खेल्ने सम्झौता गरेका थिए। किनकी उनी बिबिएलमा आवद्ध हुनुअघि बंगलादेश प्रिमियर लिग (बिपिएल) टिम सिल्हेट सिक्सरमा आवद्ध भएका थिए। सन्दीप बिपिएलका खेल खेल्ने गरि मेलवर्नमा आवद्ध भएका थिए। बिपिएल सकिएपछि सन्दीप दोस्रो सत्रको खेल खेल्ने अस्ट्रेलिया फर्कनेछन्।
पहिलो सत्रमा सन्दीपले प्रभावशाली खेल पस्किएका छन्। उनले ४ खेलमा लगातार विकेट लिँदा कुल ८ विकेट लिन सफल भए। उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरे।
सिड्नी थन्डरविरुद्ध बिबिएलमा डेब्यू गर्दा उनले २ विकेट लिए। सो खेलमा उनले थन्डरका कप्तान सेन वाट्सनलाई आउट गरेका थिए। सो खेलमा उनले कलुम फर्ग्युसनलाई पनि सिकार बनाए। खेलमा उनले ४ ओभरमा ३६ रन खर्चिएका थिए।

सन्दीपले आफ्नो दोस्रो खेल होबर्ट हुरिकेन्सविरुद्ध खेल्दै ३ विकेट लिए। सो खेलमा पनि सन्दीपले होबर्टका कप्तान म्याथ्यु वेडलाई आउट गरेका थिए। वेडसहित सन्दीपले एलेक्स डोनाल र म्याकडोरमोर्टलाई पनि सिकार बनाए। होबर्टविरुद्धको खेलमा पनि सन्दीपले ४ ओभर नै बलिङ गर्दा २४ रन खर्चिए।
सन्दीपले सिड्नी सिक्सरविरुद्ध खेलिएको तेस्रो खेलमा २ विकेट लिए। उनले सिक्सरका कप्तान मोइसिस हेनरिक्सलाई एलबिडब्लूको सिकारमा पारेका थिए। यस्तै सन्दीपले टिम कुरानलाई पनि आउट गरेका थिए। खेलमा उनले ४ ओभरमा १८ रन मात्र खर्चिए।

मंगलबार भएको चौथो खेलमा पनि सन्दीपले विकेट लिन सफल भए। यसपटक पनि सन्दीपले विपक्षी टिमका कप्तानलाई आउट गर्ने क्रममा मेलवर्न रेनेगेड्सका कप्तान टम कुपरलाई १० रनमा बोल्ड गरे। खेलमा सन्दीपले ४ ओभरमा ३१ रन खर्चिए। यसरी चार खेलमा ८ विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका सन्दीप अब बिपिएलका लागि बंगलादेश फर्कदैछन्।
बिपिएल आगामी ५ जनावरीदेखि सुरु हुँदैछ। सन्दीपको टिम सिल्हेट सिक्सरको पहिलो खेल ६ जनावरीमा कोमिला भिक्टोरियन विरुद्ध छन्।
अस्ट्रेलियामा राम्रो छाप छाडेका सन्दीपले बिपिएलमा अस्ट्रेलियाका डेभिड वार्नरको कप्तानीमा खेल्दैछन्।
बिपिएल आगामी ८ फेब्रुअरीसम्म हुनेछ। अस्ट्रेलियाको बिबिएल १७ फ्रेब्रुअरीमा हुनेछ। त्यसैले सन्दीप बिबिएलका अन्तिम खेल खेल्न सक्नेछन्।
बिपिएल चलिरहदा सन्दीप नेपाली राष्ट्रिय टिमबाट खेल्न युएई जानेछन्। नेपाल र युएईबीच २५ जनावरीदेखि ३ फेब्रुअरी भित्रमा ३ एकदिवसीय र ३ टी–२० खेल हुँदैछ। त्यसैले सन्दीपले बिपिएलका पनि केहि खेल गुमाउनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।