रियो दि जेनेरियो– ब्राजिलको राष्ट्रपतिमा हालै निर्वाचित बनेका जाइर बोल्सोनारोले आफूले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै ब्राजिलमा बन्दूक राख्न पाउने कानुनको व्यवस्था गर्ने घोषणा गर्न लागेको बताएका छन्।
बोल्सोनारोले शनिबार ट्विटरमार्फत एक सन्देश जारी गर्दै भने, ‘निर्वाचन अभियानका समय बन्दूक राख्न पाउने कानुनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता अनुरूप नै आगामी दिनमा कानुनी व्यवस्था गरिने छ।’ पूर्व सैनिक क्याप्टेनबाट राष्ट्रपतिमा निर्वाचित बोल्सोनारोले आजदेखि पदभार सम्हाल्दै छन्।
ब्राजिलमा बन्दूकजन्य हतियारलाई राख्नका लागि निकै कडा कानुनी प्रावधान छ। नागरिकले हतियार राख्न लामो प्रक्रियापछि अनुमतिपत्र पाउने गर्छन् भने निकै थोरै हतियार मात्र नागरिकलाई बिक्री गरिन्छ।
ब्राजिलमा बन्दूक राख्न कानुनी जटिलता हुँदाहुँदै पनि गोली हानी हत्या गर्ने समस्या भने देखिँदै आएको छ। सन् २०१७ मा ब्राजिलमा सबैभन्दा धेरै ६३ हजार मानिसको मृत्यु भएको थियो। सन् २००५ मा हतियार बिक्रीमा रोक लगाउने वा नलगाउनेबारेमा जनमत सङ्ग्रह भएको थियो। जसमा ६४ प्रतिशत जनसङ्ख्याले बन्दूक राख्ने अधिकारको पक्षमा मतदान गरेका थिए। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।