बेइजिङ– सन् २०१८ मा चीनको आर्थिक विकास तर्कसङ्गत अवस्थामा रहेको राष्ट्रपति सी जिनपिङले सोमबार बताएका छन्।
नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई गरेको सम्बोधनमा उनले भने, ‘चिनियाँ जनताको सुख र सम्वृद्धितर्फको यात्रा निरन्तर अघि बढेको छ। चिनियाँ जनताको जीवनशैलीमा विस्तारै प्रगति भइरहेको छ।’
उनले चीनले यो वर्षका लागि तय गरेको वायु, जल तथा माटोको प्रदुषण नियन्त्रण गर्ने र रोक्ने अभियानमा बेइजिङ लागिपरेको र यसमा केही सुधार ल्याउन सफल भएको पनि उनको भनाइ थियो।
बेइजिङ–तियानजिन–हेवेइ क्षेत्रको विकासका लागि समन्वयकारी विकासलगायतका राष्ट्रिय रणनीतिक कार्यक्रम, याङजे आर्थिक मार्गको विकास र कुआङडोङ–हङकङ–मकाओ ग्रेटर वे क्षेत्रको निर्माण कार्यलाई बिस्तारै कायान्वयनतर्फ लगिएको राष्ट्रपति सीले बताए।
राष्ट्रपति सीले आफ्नो निरीक्षण भ्रमणमा याङजे नदी वरपरको प्रदुषणमा सुधार देखेको पनि उल्लेख गरे। उत्तरपूर्वी प्रान्तहरूमा कृषि उत्पादनमा वृद्धि, सेनझेन र साङ्घाई क्षेत्रको सुधारमा विशेष उर्जाका साथ कामहरू भइरहेको जनाउँदै उनले यसैवर्ष हङकङ–झुहाई–मकाओ पुल पनि प्रयोगका लागि खुला गरिएको बताए।
उनले भने, ‘समग्रमा यस वर्ष १ सयभन्दा बढी महत्वपूर्ण सुधारका कार्य भएका छन्।’ सुधारवादी नीति लिएको ४०औँ वर्षमा आइपुग्दा चीनले धेरै सुधारका काम गरेको र यसबाट चीनको आर्थिक विकासमा अपेक्षाकृत उपलब्धी भएको उनको दाबी थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।