काठमाडौं- मलेसिया सरकारले जनवरी १ गतेदेखि लागू हुने गरी नयाँ सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन विदेशी कामदारलाई अपिल गरेको छ। यो व्यवस्था नेपाली कामदारका पक्षमा समेत लागू हुने मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।
दूतावासले सूचना जारी गर्दै विद्यमान 'फरेन वर्कर्स कम्पेन्सेसन स्किम' (एफडब्लूसीएस) को सट्टा नयाँ व्यवस्था 'सोसियल सेक्युरिटी अर्गनाईजेसन' (सोक्सो) मा आबद्ध हुन आग्रह गरेको छ। यो योजना जनवरीदेखि लागू हुँदैछ।
विद्यमान एफडब्लुसिएस अन्तर्गत रहेका कामदाले उक्त कार्यक्रमको म्याद सकिएको भोलिपल्ट नै नयाँ योजना सोक्सोमा दर्ता भइसक्नुपर्नेछ।
रोजगारीका लागि मलेसिया आउन कामदारले सोक्सोमा अनिवार्य दर्ता हुनुपर्ने क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राज खरेलले जानकारी दिएका छन्। सोक्सोबाट करिब ४ लाख नेपाली कामदार लाभाविन्त हुने उनको भनाइ छ।
मलेसियामा कार्यरत र अब जाने कामदारले आ-आफ्ना रोजगारदातासँग सम्पर्क राखेर आफूलाई सोक्सोमा दर्ता गराउन अपिल गर्न दूतावासले सूचना जारी गरेको छ।
रोजगारदाताले नै विदेशी कामदारलाई सोक्सोमा दर्ता गर्नुपर्ने र सामाजिक सुरक्षाबापत कामदारको मासिक न्यूनतम पारिश्रमिकको १ दशमलव २५ प्रतिशत कम्पनीले व्यहोनुपर्ने व्यवस्था गरिएको छ। रोजगारदाताले कामदारको पारिश्रमिकबाट पनि यो रकम कट्टा गर्न पाउँदैन।
मलेसिया सरकारले हालै मात्र सामाजिक सुरक्षा कार्यक्रमका लागि सोक्सो लागू गरेको हो। नयाँ सामाजिक सुरक्षा कार्यक्रममा कामदारको पारिश्रमिकबाट पैसा काटिने छैन।
नयाँ कार्यक्रममा दर्ता हुने कामदारले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनर्स्थापना लगायतका सुविधा पाउनेछन्।
मलेसियामा वैधानिक रूपमा रहेका कामदारले मात्र यो सुविधा पाउनेछन्। भागेर काम गर्ने विदेशी श्रमिकका हकमा यो सुविधा पाउँदैन। अवैधानिक भएमा त्यस्ता कामदारले सामाजिक सुरक्षा बापतको सेवासुविधाबाट बञ्चित हुनेछन्। एफडब्लूसीएसको म्याद बाँकी नै रहेपनि आउँदो १ जनवरी २०१९ देखि भने अनिवार्य रूपमा सोक्सोमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।