काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना अघि सारेका छन्।
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पारे। सोमबार काठमाडौंमा आयोजित नागरिक उड्डयन प्राधिकरणकाे २०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई पनि आग्रह गरे।
मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए।
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागिएको पनि बताए। उनले पर्यटन क्षेत्रको विकासको लागि पूर्वाधारको अवस्थामा सुधार ल्याउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई सरकारले अघि बढाएको पनि स्पष्ट पारे।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन क्षेत्रको दीगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरे। पर्यटन क्षेत्रलाई सेवाको रुपमा नभई व्यापारको रुपमा जोड दिँदा पर्यटन क्षेत्रको विकासमा टिकाउ नहुने प्रम्ख कार्यकारी अधिकृत जोशीको भनाइ छ।
प्रमुख कार्यकारी अधिकृत जोशीले पर्यटन क्षेत्रको विकासका लागि सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए। कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनेहरुलाई सम्मान समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।