सिओल– दक्षिण कोरियामा बैंकहरुले प्राप्त गर्दै आएको विप्रेषण कारोबारमा रेमिट्यान्स कम्पनीलाई पनि प्रवेश दिएपछि नेपालीकै लगानीमा विप्रेषण कम्पनी प्रारम्भ भएको छ।
व्यवसायी रुद्र शर्माले स्वीकृति लिएरै विप्रेषण कारोबार सुरु गरेका हुन्। रेमिट कम्पनीहरुलाई कारोबार अनुमति खुला गरेको एक वर्षपछि नेपाली लगानीकर्ताले विप्रेषण कारोबार सुरु गरेका हुन्।
यसअघि कोरियाली लगानीकर्ताहरुले सञ्चालनमा ल्याएका रेसिट्यान्स कम्पनीले मात्रै कार्य गरिरहेका थिए। आइतबारदेखि औपचारीक रुपमा सञ्चालनमा आएको कम्पनी ‘स्टार रेमिट’ नेपालीमार्फत सञ्चालित पहिलो रेमिट कम्पनी हो।
कम्पनीले कोरियाबाट नेपालसहित १७ देशमा आफ्नो सेवा एकैसाथ सञ्चालनमा ल्याउने शर्माले बताए। रेमिटले नेपालमा इशारा रेमिट, सेवा रेमिट र कुमारी बैंकसँग सहकार्य गर्ने जनाइएको छ।
नेपालीहरुकै लगानीलाई प्रोत्साहन गर्नका लागि ‘स्टार रेमिट’को उपयोग गर्न यहाँ रहेका नेपालीलाई शर्माले आग्रहसमेत गरेका छन्।
कोरियामा बैंकहरुको एकाधिकारलाई तोड्दै गतवर्ष यहाँको सरकारले रेमिट कम्पनीलाई पनि कारोबारको अनुमति दिएपछि धमाधम रेमिट कम्पनीहरु सञ्चालनमा आइरहेका छन्।
कोरियामा जिएमई, हानपास, जी मोनी, एसबिआई कोषमनि, इनाइन पे लगायत रेमिट कम्पनीहरुले आफ्नो सेवा दिइरहेका छन्। कोरियालीद्धारा सञ्चालित कतिपय रेमिट कम्पनीहरुमा नेपाली युवाहरुले रोजगारीसमेत गरिरहेका छन्।
रेमिट कम्पनीहरुको बढ्दो प्रतिस्पर्धाले कोरियामा कार्यरत नेपाली युवाहरुलाई फाइदा पुगेको छ। रेमिट्यान्स कम्पनीहरुका कारणले हुण्डी कारोबारमा समेत उल्लेख्य कमि आएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।