सियोल – दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६ सय अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ। दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ।
संयुक्तराज्य अमेरिका, जर्मनी, जापान र चीन समेतका छ वटा मुलुकको मात्र वार्षिक निर्यात ६ सय अर्ब डलर पुगेको छ। एसियाको चौथो सर्वाधिक ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औसत वार्षिक आर्थिक वृद्धिदर सन् १९४८ यता १६.१ प्रतिशतको हाराहारीमा रहेको छ।
कोरियाले ७० वर्षअघि वार्षिक करिब १९ लाख अमेरिकी डलर बराबरको निकासी गरेको थियो।
मन्त्रालयले वार्षिक निर्यात ६०० अर्ब डलर पुर्याउन झण्डै २३ वर्ष लागेको जनाएको छ। विश्वका सात सर्वाधिक ठूला निर्यातकर्ता मुलुकमध्ये कोरिया चौथो हो। औद्योगिक उत्पादन र निकासीका क्षेत्रमा विगत ११ वर्षमा अत्यधिक प्रगति गरेको चीन पहिलो स्थानमा रहेको छ।
विश्वमा यस वर्ष अत्यधिक माग रहेको सेमिकन्डक्टर्स, मेसिनरी र पेट्रोकेमिकल्सको उत्पादनमा कोरियाले फड्को मारेको छ । खासगरी, वार्षिक गणना गर्दा कोरियामा निर्मित इलेक्ट्रोनिक चिप्सको बिक्री पहिलो पटक १०० अर्ब डलरभन्दा बढी भएको छ ।
'विश्व व्यापारमा नकारात्मक प्रभाव पर्ने खतरा बढेको छ। जस्तै, ठूला औद्योगिक अर्थतन्त्र भएका मुलुकहरुमा आगामी वर्ष केही मन्दी आउने तथा अमेरिका र चीनबीचको व्यापार विवाद लम्बिने खतरा छ,' मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 'तर दक्षिण कोरिया सरकारले सन् २०१९ मा समेत ६०० अर्ब डलर बराबरका सामान निकासी गर्नेगरी योजना बनाइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।