ढाका- बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाइ गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झन्डै छ लाख परिचालन गरिएको जनाएका छन्।
मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको अधिकारीहरुको भनाइ छ।
प्रधानमन्त्री शेख हसिना नै फेरि निर्वाचित हुने अपेक्षा गरिएको आम निर्वाचनका लागि देशभर झन्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ।
सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ। 'देशको क्षमता अनुसार हामी सकेसम्मको उच्च सुरक्षा व्यवस्था गरेका छौँ, सुरक्षामा कुनै कमजोरी तथा अभाव हुनेछैन भन्ने हामीले विश्वास लिएका छौँ,' निर्वाचन आयोगका एक अधिकारी राफिक्वाल इस्लामले भने।
यस पटकको निर्वाचनको सिलसिलामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने अरु हजारौं घाइते भएका छन्।
मुस्लिम समुदायको बाहुल्य रहेको यस देशमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिस्पर्धा हुने देखिएको छ।
प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छन् भने विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन्।
प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाएकी छन् भने उनलाई विपक्षी दलले राज्य आतङ्क मच्चाएको दाबी गरेको छ।
विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेल छिन्। ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी पत्नी हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन्।
यी दुवै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय छन्। यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनेछिन्।
यसअघि दुवै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनर्स्थापना गरेका थिए।
तर, सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो। त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरमविन्दुमा पुगेको छ।
विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा छिन्। बङ्गलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाएकी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।