काठमाडौं- उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन्।
बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेको भन्दै उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेका हुन्।
वैज्ञानिक भाडादर कायम नहुँदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने उनीहरुको माग छ। '२०६९ सालदेखि भाडा समायोजन भएको छैन। छिमेकी मुलुकहरूमा मिटरको सुरुवात कल तीन किलोमिटर बराबर हुन्छ। त्यो हिसाबले हाम्रो यहाँको मिटरमा सुरुमा कल एकदमै कम छ’, व्यवसायी एवं चालक पूर्ण तामाङले बताए।
सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या र गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाइएको जानकारी दिए।
अधिकांश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएकाले सरकारले वैज्ञानिक र उपयुक्त संयन्त्रबाट मूल्य समायोजन गर्नुपर्ने तथा चालकमाथि आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्ने लगायत माग राख्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।