काठमाडौं- राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन भएको छ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो।
नियमावलीमा एउटा बैठक र अर्को बैठकको समय ७ दिनभन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले बिजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संशोधन गर्न लागिएको हो।
नियमावलीको धारा ६ को १ मा सभाको बैक बस्ने दिन तोक्दा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेमा बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिन भन्दा बढी हुने गरी तोकिनेछैन भन्ने उल्लेख छ। नियमावलीले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ।
यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै उपाध्यक्षले पनि बैठकको अध्यक्षता गर्ने व्यवस्थासहित नियमावली संशोधन गर्न लागिएको हो।
मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा (पार्वती), परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण विडारी, विन्दा देवी आले(राना), वृषेशचन्द्र लाल र शेरबहादुर कुँवर सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।