काठमाडौं- कुनै समय राजधानीको सौन्दर्यको एउटा विम्ब बनेको रानीपोखरी पछिल्लो समय पानी बिनाको कुरुप पोखरी बनेको छ । पोखरी चौरमा परिणत भएको छ भने भूकम्पले क्षति पुर्याएको भौतिक संरचनाहरु अस्तव्यस्त छन्।
साढे २ वर्षअघिको भूकम्पले क्षति पुर्याएको पोखरीको संरचनाको पुनर्निर्माण सुरु गरेर बीचैमा अलपत्र छाडिँदा अहिलेको दयनीय अवस्था देखिएको हो । काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको नक्सा तयार पारे पनि नयाँ वा पुरानै शैलीमा बनाउने लगायत विवादका कारण पुनर्निर्माण रोकिएको हो।
पोखरी पुनर्निर्माणका लागि भन्दै यहाँका सबै माछा महानगरपालिकाले अन्तै सारेर पानी सुकाएको थियो। महानगरपालिका र पुरातत्व विभागबीचको विवादपछि यहाँको बालगोपालेश्वर मन्दिरको निर्माण पनि अवरुद्ध बनेको छ।
पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पुनर्निर्माणअन्तर्गत चारैतिर बार बारिने, केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, बगैंचा बनाइने, हरियाली र रंगीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।