बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।
डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो।
दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए।
गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार छन्।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।