मिलान- इन्टर मिलानले घरेलु मैदानमा दुई खेल रित्तो रंगशालामा खेल्नु पर्ने भएको छ। गत बुधबार नापोलीका डिफेन्डर कालीडोउ काउलीबालीमाथि जातीय अपमान गरेको भन्दै इन्टर मिलानमाथि कारबाही गरिएको हो
इन्टर मिलानको घरेलु मैदान सान सिरोमा भएको खेलमा काउलीबालीमाथि समर्थकहरुले जातीय गाली बर्साएका थिए।खेलपछि नापोलीका प्रशिक्षक कार्लो एन्सेलोनीले ३ पटक खेल रोक्न अनुरोध गरे गर्दा खेल संचालन भएको बताएका थिए। सो खेलमा नापोलीमाथि इन्टरले १–० को जित हात पारेको थियो। खेलमा काउलीबालीले रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए।
बिनादर्शक खेल्न कारबाही गरिएको विषयमा इन्टरले अपिल गर्ने वा नगर्ने विषयमा निर्णय गरिसकेको छैन।
मिलानमा भएको खेलका दौरान रंगशाला बाहिर भएको झडपमा परि एक समर्थकको ज्यान गएको थियो। खेलमा ४ जना नापोलीका समर्थक गम्भिर घाइते भएका थिए।
सेनेगलका २७ वर्षीय डिफेन्डरले २ पहेँलो कार्ड पाएका थिए। उनले पोलिनाटोमाथि पहिलो पहेँलो कार्ड पाएका थिए भने दोस्रो पहेँलो कार्ड रेफ्री निर्णयको विरोध गर्दा पाएका थिए।
इटालीय फुटबल फेडेरेसनका अध्यक्ष गाब्रियल ग्रभिनाले जातिय गाली र रंगशाला बाहिर भएको हिंसा असैह्य भएको प्रतिक्रिया दिएका छन्। उनले यस्ता क्रियाकलापले फुटबलका सच्चा समर्थकलाई चोट पुर्याएको पनि बताएका छन्। उनले फुटबलमा हुने जातीय अपमानको विषयमा छानबिन गरेर कारबाही गर्ने पनि बताएका छन्।
नापोलीले आफ्ना खेलाडीमाथि लगातार जातीय गाली आइरहेको बताएको छ। काउलीबालीमाथि लगातार भइरहेको हिंसाप्रति उसले दु:ख ब्यक्त गरेको छ। उनलाई इटालीभर हिंसा भएको समेत दाबी गरेको छ। यसअघि एटलान्टा, युभेन्ट्स र लाजियोविरुद्धको खेलमा पनि जातीय अपमान भएको नापोलीले उल्लेख गरेको छ। साथै उसले इन्टरलाई २ खेलमा दर्शनबिना खेल्न गरिएको कारबाही कम भएको भन्दै असन्तुष्टी समेत जनाएको छ।
खेलपछि काउलीबालीले ट्विटरमा पोस्ट गर्दै टिमको हारमा माफी मागेका छन् भने आफ्नो दाजुभाइलाई तल पुर्याएको भन्दै दु:ख व्यक्त गरेका छन्। उनले आफ्नो छालाको रंगमा गर्व भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।