पोखरा– अघिल्लो सातामात्रै सर्वोच्च अदालतबाट थुनामुक्त भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले बिहीबार सपथ ग्रहण गराइपाऊँ भन्दै निवेदन दिएका छन्।
उनले प्रदेश सभाका सचवालयमै आएर लिखित निवेदन दिएको सचिवालयका एक सदस्यले जानकारी दिए।
‘सचिवालयमै आएर लिखित निवेदन दिनुभएको छ। उहाँको निवेदन दर्ता भइसक्यो,’ ती सदस्यले भने, ‘अब बाँकी प्रक्रिया कानुनबमोजिम नै हुनेछ।’
उनका अनुसार मनाङे थुनामुक्त भएपनि सपथ ग्रहण गर्न पाउने कि नपाउने भन्ने विषय भन्ने अन्योल छ। अघिल्लो वर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारीबाट विजयी भएका थिए।
निर्वाचनमा जित हासिल गरेता पनि बैशाखमा ज्यान मार्ने मुद्धा अन्तर्गत पक्राउ परेपछि सपथ ग्रहण गर्ने अवसर पाएका थिएनन्।
प्रदेश सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार थुनामुक्त भएरमात्रै नहुने र अदालतले नै मुद्धा टुंग्याएमात्रै सपथ लिन पाइने नियम रहेको छ।
गण्डकी प्रदेशको प्रदेशसभा नियमावली अनुसार बिना जानकारी लगातार १० बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्यको पद खारेज हुने व्यवस्था छ।
प्रदेशसभामा सपथ नलिएका कारण मनाङेको क्षेत्रमा उपनिर्वाचन पनि भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।