काठमाडौं– वैदेशिक रोजगार विभागमा मंसिर महिनामा मात्रै ४ करोडभन्दा बढी रकम ठगिएको उजुरी परेका छन्। मंसिर महिनामा परेका व्यक्तिगत ठगीका ४३ र संस्थागततर्फका ४८ गरी परेका ९१ वटा उजुरीमा उक्त रकम बिगो दावी गरिएको छ।
विभागले मंसिर महिनाको विवरण सार्वजानिक गर्दै व्यक्तिगत ठगीका ४३ वटा उजुरीमा २ करोड ५३ लाख ७२ हजार रुपैयाँको दावी गरिएको छ जनाएको छ। यस्तै संस्थागत तर्फका ४८ वटा उजुरीमा १ करोड ५७ लाख ३१ हजार ८ सय ५७ हजार रुपैयाँ बिगो दावीसहित रोजगार पीडितले मुद्दा दता गराएका छन्।
वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत रुपमा परेका उजुरीको संख्या कमी देखिए पनि व्यक्तिले धेरै रकम ठगि गर्ने गरेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ। जसका व्यक्तिगत मुद्दा पनि अति न्यून मात्रामा फरफारक हुने गरेको विभागको तथ्यांकमै देखिन्छ।
मंसिर मसान्तसम्म विभागमा व्यक्तिगततर्फ ३ सय २१ र संस्थागततर्फ ४ सय ३४ उजुरी गरी ७ सय ५५ उजुरी परेका छन्। दुवैतर्फ गरी चालू आर्थिक वर्षको ५ महिनामा ३२ करोड ६४ लाख ९१ हजार २ सय ५२ रुपैयाँ बिगो दावी गरिएको छ। त्यसमध्ये व्यक्तिगततर्फ १७ करोड ५३ लाख ७४ हजार बराबरको रकम दाबी गरिएको छ।

चालू आर्थिक वर्षको ५ महिनामा परेका व्यक्तिगततर्फका ३ सय २१ उजुरीमध्ये ४२ वटा मात्र अर्थात् करिब १३ प्रतिशत उजुरी मात्र फरफारक भएका छन्। विभागले हालसम्म ५९ वटा उजुरीमा वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्दा दायर गरेको छ। त्यसमा ८ करोड १७ लाख १४ हजार बराबरको बिगो दावी गरिएको छ।
यस अवधिमा व्यक्तिगततर्फ ४२ वटा उजुरी फरफराक गर्दै ३ करोड ५५ लाख ११ हजार रुपैयाँ बिगो भराइदिएको विभागले तयार पारेको तथ्यांकमा उल्लेख छ। मंसिर महिनामा मात्रै विभागले व्यक्तिगत ठगीतर्फको ४ वटा उजुरीमा ४३ लाख ७० हजार रुपैया असुलउपर गराइदिएको छ।
व्यक्तिगत सम्पर्कको माध्यमबाट धेरै मान्छे वैदेशिक रोजगारीमा जान खोज्द ठगिने गरेको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले बताएका छन्। विभागमा आएका उजुरीमा बिगो भराउन प्रयास भइरहेको उनको भनाइ छ।
मंसिर महिनामा करिब ४८ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।