काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीमाथि आज संसदीय सुनुवाइ विशेष समितिमा छलफल हुने भएको छ। उनीविरुद्ध आठ थान उजुरी परेका छन्।
समितिको सचिवालय सिंहदरबारमा बस्ने बैठकमा समिति सदस्यहरुबीच छलफल हुन लागेको सभापति लक्ष्मणलाल कर्णले बताए। समितिको छलफलअघि राणाको बारेमा परेका उजुरीहरु गोप्य रहेको उनले बताए।
'समिति सदस्यहरुबीच छलफल गर्नुका साथै उजुरीकर्ताहरूसँगको छलफल पनि आजै सुरु हुनेछ,' उनले भने।
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो। संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। राणाविरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई छाउनीको जग्गा दाइजो हुने फैसला सुनाएको, सुशीला कार्कीको महाअभियोगको मुद्दामा कानुनको धारा नै उल्लेख नगरी आदेश गरेको, इजलास बहिस्कार गरेको, भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला सुनाएको र अन्य विवादास्पद आदेश गरेको भनी उजुरी दर्ता भएको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।