काठमाडौं – दैलेखको जिल्ला कृषि विकास कार्यालयका कर्मचारीले फर्जी बिल तयार गरेर करिब एक करोड रुपैयाँ घोटाला गरेका छन्।
उक्त अनियमिततामा १३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। ‘सिड किट्स’ वितरणमा अनियमितता गरेको आरोपमा अख्तियारले ९५ लाख ५१ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
ठेकेदार र कर्मचारीको मिलेमतोमा उक्त घोटाला भएको आरोप अख्तियारको छ। उक्त अनियमिततामा जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरेसहित १३ विरुद्ध मुद्दा दायर गरिएको छ।
कृषि सामग्री खरिद नै नगरी खरिद गरेको देखाइ ढुवानीसमेत गरेको नक्कली बिल भरपाई बनाएर घोटाला गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
उक्त बिल भरपाई सदर गरी भुक्तानी दिइ/दिइ प्राप्त नभएको सामान आम्दानी बाँधी खर्च देखाएर विउ खरिद गर्ने र प्रयोग गर्ने प्रयोजनलाई नै निस्तेज गरिएको दावी अख्तियारको छ।
अख्तियारले कार्यालय प्रमुख विरुद्ध १० लाख ५० हजार, वागवानी विकास अधिकृत सूर्यनाथ योगीविरुद्ध १८ लाख ३६ हजार, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापाविरुद्ध १० लाख ३ हजार, लेखा अधिकृत ढालबहादुर हमालविरुद्ध १२ लाख ४६ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ।
त्यस्तै, कार्यालयकै प्राविधिक सहायक गमानसिंह थापाविरुद्ध २ लाख २४ हजार, वागवानी विकास अधिकृत भुवनबहादुर मल्लविरुद्ध ७३ हजार, नासु नमराज थापाविरुद्ध ८ लाख १२ हजार, लेखापाल रामकुमार शाहविरुद्ध १६ लाख ९१ हजार, प्राविधिक सहायक मिमबहादुर शाहीविरुद्ध १ लाख ७५ हजार रुपैयाँ बिगो मागदावी गरिएको छ।
त्यस्तै, नायव प्राविधिक सहायक रगबहादुर थापाविरुद्ध ३९ हजार, प्राविधिक सहायक पूर्णबहादुर थापाविरुद्ध ३ लाख ४८ हजार, सव इन्जिनियर रामप्रसाद शर्माविरुद्ध १० लाख २७ हजार र प्रेमबहादुर शाहीविरुद्ध २२ हजार रुपैयाँ मागदावी गरि मुद्दा दायर गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।