काठमाडौं- वैदेशिक रोजगारीका लागि टर्की पुगेका ९ सय नेपाली अलपत्र परेका छन्। ११ महिनाअघि टर्की पुगेका ३ सय २० जना नेपाली युवा स्वदेश फर्किए अझै करिब ९ सय युवा अलपत्र परेको टर्कीबाट फर्किएका कामदारको दाबी छ। कम्पनीले काम नदिएपछि अलपत्र परेर स्वदेश फर्किएको बताएका उनीहरु २ वर्षका लागि करार सम्झौता गरी टर्की पुगेका थिए। कम्पनीले काम नदिएपछि आफ्नै खर्चमा स्वदेश फर्किएको उनीहरूले बताए।
टर्कीको आइजिए कम्पनीका लागि ११ महिनाअघि एजेन्टले ल्याएको डिमान्डमार्फत तीन म्यानपावर कम्पनीले उनीहरुलाई पठाएको थियो। उनीहरु जस्तै रोजगारीका लागि टर्की पुगेका ९ सय जना नेपाली कामदार कम्पनीले काम नदिएपछि अलपत्र परेर बसेको टर्कीबाट फर्किएका चन्दप्रकाश ढकाल (उदयपुर)ले बताए।
टर्कीबाट फर्किएका ३ सय जना कामदार म्यानपावर र एजेन्ट विरुद्ध उजुरी गर्न वैदेशिक रोजगार विभाग पुगेका छन्।
आइजिए कम्पनीले रोजगारीका लागि गएका सबै नेपाली कामदारलाई ९ महिना मात्र काम दिने गरेको उनीहरुको आरोप छ। 'आइजिए कम्पनीमा हामीजस्ता करिब ९ सय नेपाली कामदार अलपत्र परेर बसेका छन्।
कामदारको तलबबाट डिपोजिट गरेको ६ सय डलर बाहेक स्वदेश फर्कने टिकट दिने सम्झौतासमेत गरिएको थियो। तर, घर फर्कन टिकट पनि दिएन,’ ढकालले भने। आइजिए कम्पनीमा करिब ७ हजार विदेशी कामदार कार्यरत रहेको तर नेपाली कामदारलाई बढी सास्ती दिने गरेको फर्किएका कामदारले बताए।
'नेपालबाट टर्की जाँदा ८ घन्टा काम गर्ने भनेर सम्झौता भएको थियो। तर, टर्की पुगेपछि २४ घन्टासम्म पनि काम गर्नुपर्यो,' सिराहाका निर्माण पाख्रिनले भने, 'नेपालबाट जाँदा मासिक ५ सय डलर तलब दिने सम्झौता भएको थियो। तर सम्झौताअनुसारका कुनै पनि सेवा सुविधा पाइएन।'
टर्कीको आइजिए कम्पनीका लागि नेपालका युरो नेपाल म्यानपावर प्रालि, अवसर म्यानपावर प्रालि र एच आर म्यानपावर कम्पनीले उनीहरूलाई त्यहाँ पुर्याएका थिए। टर्कीको आइजिए कम्पनीमा काम गर्ने नेपाली कामदारको डिमान्ड भने एजेन्टले ल्याएर ती म्यानपावरलाई दिएको खुलासा समेत भएको छ।
टर्कीमा रहेका नेपाली एजेन्ट विनोद शाह, प्रकाश परिवार, सन्तोस बस्नेत, रेवती कटुवाल र लिलम खड्काको सम्पर्कमा १ हजारभन्दा बढी कामदारलाई ती म्यानपावरले टर्की पठाएका थिए। यी म्यानपावरले प्रति कामदार २ देखि ४ लाखसम्म लिएर टर्की पठाएका हुन्। यति धेरै पैसा कामदारसँग उठाएपनि म्यानपावर कम्पनीले उनीहरूलाई ८० हजार मात्र लिएको रसिद दिएका छन्। सरकारले टर्की जाने कामदारका हकमा ८० हजार सेवाशुल्क तोकेको छ।
नेपाली एजेन्टले नै नेपाली कामदारलाई दुःख दिने गरेको उनीहरूको गुनासो छ। एजेन्टमार्फत रोजगारीमा गएका धेरै नेपाली कामदार अलपत्र पर्ने गरेको उनीहरूको भनाइ छ। टर्कीमा घरेलु कामका लागि नेपाली महिला तस्करी हुने गरेको समेत उनीहरुले बताएका छन्।
आइजिए कम्पनीले नेपालबाट कामदार लिँदा 'फ्रि-भिसा, फ्रि-टिकट' को सुविधा दिएपनि एजेन्ट र म्यानपावरले कामदारसँग बढी पैसा असुलेको उनीहरूको आरोप छ। ती म्यानपावर कम्पनीले कामदार आपूर्तिका लागि प्रति कामदार ७ सय अमेरिकी डलर कमिसन लिने गरेको समेत फर्किएका कामदारले जानकारी दिएका छन्।
यो विषयमा म्यानपावर कम्पनीसँग यथार्थ बुझेर कारबाही अघि बढाउने विभागका महानिर्देशक दीलिपकुमार चापगाँईले बताएका छन्। सरकारले तोकेभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा म्यानपावर कम्पनीलाई कारबाही उनको दाबी छ। 'टर्कीमा अलपत्र परेका कामदारका विषयमा पनि सम्बन्धित निकायसँग विवरण लिन्छौं,' महानिर्देशक चापागाँईले भने, 'यदि अलपत्र परेकै हुन् भने उद्धारका लागि पहल गर्छौं।'
पछिल्लो समय व्यक्तिगत सम्पर्कमा रोजगारीका लागि युरोप जाने नेपालीले दुःख पाएका घटना र उजुरी विभागमा आउने क्रम बढ्दै गएको छ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।