काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका विशाल चौधरी छुटेका छन्। तर उनीभन्दा अघि पक्राउ परेका प्रदीप रावल भने अझै प्रहरी हिरासतमै छन्।
मंसिर १८ गते काठमाडौंबाट पक्राउ परेका कञ्चनपुरकै रावललाई सार्वजनिक अपराधमा म्याद थप गर्दै महानगरीय प्रहरी वृत महाराजगन्जको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। रावललाई चारपटक काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर राखिएको छ।
उनकै बयानको आधारमा कञ्चनपुरबाट पक्राउ परेका विशाल चौधरी भने गत शनिबार रिहा भएका छन्। रावलले बालिका पन्तको हत्या गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको थियो।
रावलको बयानले निर्मला हत्याको पर्दाफास हुने सम्भावना धेरै देखिएको भन्दै गत मंसिर १९ गते राति उनको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सिआइबी पुगेका थिए।
बयानमा हत्या स्वीकार गरिसकेका भनिएका रावलको त्यसबेलै डिएनए परीक्षणका लागि उनको रगत प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। उनीसँगै कञ्चनपुरबाट ल्याइएका चौधरीको पनि डिएनए निर्मलाको भेजाइनल स्वाबमा भएको पुरुष वीर्यसँग मेल खान्छ/खाँदैन परीक्षण गर्न प्रहरीले आफ्नै प्रयोगशालामा पठाएको थियो। स्रोतका अनुसार दुवैको डिएनए नमिलेको बताइएको छ।
प्रक्रिया पूरा गर्न भन्दै प्रहरीले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा डिएनए परीक्षणका लागि नमुना पठाएको थियो। स्रोतका अनुसार खुमलटारबाट आएको डिएनए रिपोर्ट पनि प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन। यसबारे प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भने, ‘हामीले डिएनए रिपोर्ट कञ्चनपुर पठाइसकेका छौं। किन आएन त्यो उत्तै थाहा होला।’
कञ्चनपुरका डिएसपी कृष्ण ओझाले भने रिपोर्ट काठमाडौंबाट नआएको जवाफ फर्काएका छन्।
डिएनए नमिलेको भन्ने जानकारी भइसक्दा विशाल छुटे पनि रावल चाहिँ किन हिरासतमा?
यसबारे प्रवक्ता सुवेदीले भने, ‘डिएनए नै सबैथोक होइन। उसले बयान दिएका कतिपय कुरा बालिका पन्तको हत्यासँग मेल खान्छ। उनीमाथिको अनुसन्धान नसकिएकाले हिरासतमै राखिएको हो।’
निर्मलाको हत्या भएलगत्तै भारत गएका रावल ५ दिनपछि कञ्चनपुर फर्किएका थिए। त्यसपछि प्रहरीले उनीमाथि शंका गर्दै डिएसपी अंगुर जिसीको टोलीले पक्राउ गरेको थियो। तर उनको संलग्नता नदेखिएपछि रिहा गरिएको थियो। रावल लागुऔषध दुर्व्यसनीसमेत हुन्।
गत साउन १० गते घरबाट हराएकी १३ वर्षीया निर्मला पन्तको शव भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो। घटनाको पाँच महिना पुग्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन। अनुसन्धानका क्रमममा प्रहरीले दर्जनौंसँग सोधपुछ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।