काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा विभिन्न देशमा कार्यरत रहेका नेपाली कामदारका लागि कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ। यो सुविधा २ पटकसम्म लिन मिल्ने बताइएको छ।
‘केही नेपाल ऐन संसोधन’मार्फत ‘वैदेशिक रोजगार ऐन, २०६४’ मा संशोधन गर्दै वैदेशिक रोजगारीमा कायरत कामदारले सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति नविकरण गर्न पाउने व्यवस्था गरिएको छ।
आइतबार संघीय संसदमा दर्ता गराएको उक्त प्रस्ताव संसदबाट पारित भएपछि पुनः श्रम स्वीकृति कूटनीतिक नियोगबाटै जारी गर्न बाटो खुल्नेछ।
हाल वैदेशिक रोजगारीमा गएका कामदारले श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यता हटाउन भन्दै यस्तो व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्था लागू भएपछि रोजगारीमा गएका धेरै नेपालीलाई सहज हुने मन्त्रालयले विश्वास लिएको छ।
विधेयकले कानुनी मान्यता पाएमा वैदेशिक रोजगारीमा जाने कामदारलाई दुई पटकसम्म श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता नरहने श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए। वैदेशिक रोजगारीमा रहेका कामदारलाई सरकारी सेवामा सहजीकरण गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्था गर्न लागिएको उनको भनाइ छ।
वैदेशिक रोजगार ऐनको दफा २१ को संशोधन प्रस्तावमा विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटकसम्म श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको छ। यसका लागि कामदारले कार्यविधि र निर्देशिकाले तोकेका कागजपत्र भने अनिवार्य पेस गर्नुपर्ने हुन्छ।
कूटनीतिक नियोगबाट धेरै पटक श्रम स्वीकृति दिँदा रोजगारीमा गएका कामदार स्वदेश नफर्की विदेशमै रहनसक्ने भन्दै बढीमा २ पटकसम्म यो सुविधा दिन लागिएको सचिव दाहालले बताए।
हाल रोजगारीका क्रममा श्रम अवधि सकिएका कामदारले पुनः श्रम स्वीकृति लिनका लागि बिदा लिएरै स्वदेश आउनुपर्ने बाध्यता छ। नयाँ व्यवस्था लागू भएपछि यसको अन्त्य हुने देखिन्छ।
नयाँ ऐनमा उल्लेख भएको व्यवस्था लागू भए श्रम अवधि सकिएपनि अवैधरुपमा रोजगारदाता देशमै लुकेर बस्ने प्रथाको अन्त्य हुने सरकारको विश्वास छ। हाल श्रम अवधि सकिएपनि ७ देखि ९ लाख नेपाली युवा रोजगारदाता देशमा अवैध रुपमा लुकेर काम गरिरहेको सरकारी अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।