धनगढी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक गाउँ एक उत्पादनको नीति कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।
राष्ट्रिय सहकारी महासंघ र मन्त्रालयको आयोजनामा सोमबार धनगढीमा सम्पन्न भएको सहकारी क्षेत्रको प्रवर्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन र प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीलाई मन्त्री अर्यालले गरेको सम्बोधनका क्रममा उक्त कुरा बताएकी हुन्।
उनले पहिलेकै सरकारले एक गाउँ एक उत्पादन नीति लिएको भएपनि कार्यान्वयनको जिम्मेवारी अहिलेको सरकारको रहेको बताइन्। उनले सो नीति कार्यान्वयनका लागि सहकारी संस्थाको पुँजी परिचालन गर्नुपर्ने बताइन्।
सुदूरपश्चिम प्रदेशकि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले सहकारीहरुले कृषि उत्पादनमा बढि जोड दिनुपर्ने दोहर्याइन्।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी प्रशिक्षण केन्द्र नभएका प्रदेशमा सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न माग गरे।
दुई दिनसम्म चलेको गोष्ठीमा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह र जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखहरुको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।