काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको आज (आइतबार) १ सय ५० लिन पुगेको छ। बलत्कारपछि हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
निर्मलाका बुबा–आमासहितको मानवअधिकारवादीको एक टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा प्रतिपक्ष दलका नेता लगायतसँग भेट गरी हत्यारालाई कानुनी दायरामा ल्याउन मागसमेत गरे।
मागको सुनुवाइ नभएको भन्दै निर्मलाका बुबाले अनसनसमेत सुरु गरेका थिए। अनसनस्थलमै बिरामी भएपछि उनको उपचार काठमाडौं ल्याएर गरिएको थियो। सरकारले पटक–पटक हत्याराको नजिक पुगिएको बताउँदै आएको छ।
अझ रक्षामन्त्री ईश्वर पोखरेलले त मात्रै हत्यारा पक्राउ परिसकेको र केही दिनमै सार्वजनिक गरिने समेत बताएका थिए।
अनुसन्धान जारी राखिएको र हत्यारालाई जुनकुनै हालतमा पनि छिट्टै पक्राउ गर्ने बताइहँदा व्यवहारमा भने अनुसन्धानको प्रगति भने शून्यको अवस्थामा छ। जसकारण नेपाल प्रहरीको चौतर्फी आलोचना भइरहेको छ।
घटनाका बारेमा छानविन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन बुझाइसक्दा अनुसन्धानमा खटिएका प्रहरी, छानविन समितिका सदस्य हुन् या सरकार र सर्वधारण नै किन नहुन्, सबैसामु सुरुदेखिकै एउटै प्रश्न जीवित छ– आखिर
निर्मलाको हत्या कसले गर्यो?
गत साउन १० गते साथी रोशनी बमको घरमा जान्छु भनेर हिँडेकी बालिका पन्तको शव ११ गते उखुबारीमा भेटिएको थियो।
हत्या भएपछि जघन्य अपराधको घटनामा पनि अपराधी पक्राउ पर्न नसकेपछि तत्कालीन अवस्थामा प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई अनुसन्धानमा खटिन निर्देशन दियो।
सिआइबीबाट अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसीको टोलीले हत्याको अनुसन्धान गरिरहेको थियो। हत्यारा जतिसक्दो चाँडो पक्राउ गरेर सार्वजनिक गर्नुभन्दै चौतर्फी दबाब थियो।
डिएसपी जिसीको टोलीले हत्यारा दिलिपसिंह विष्ट रहेको भन्दै सार्वजनिक ग¥यो। १३ वर्षीया पन्तको योनीको ‘भेजिनल स्वाब’मा भएको विर्यसँग विष्टको डिएनए नमिलेपछि उनी रिहा भए।
अनुसन्धानमा लापरबाही गरेको भन्दै अनुसन्धानमा खटिएका केही प्रहरी बर्खास्तमा परे, केही निलम्बनमा छन्। हत्यारा सार्वजनिक गर्नुपर्ने भन्दै आन्दोलन चर्किंदो थियो। सो क्रममा १४ वर्षीय सन्नी खुनाको ज्यान गयो। केही घाइते भए।
बालिका पन्तको हत्याको अनुसन्धान गर्न भन्दै सिआइबीका तत्कालीन एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा अर्को समिति गठन भयो। उक्त समितिले अनुसन्धान गरिरहेको छ।
त्यसैगरी कञ्चनपुरकै स्थानीय प्रहरी, एसपी दुर्गा सिंह नेतृत्वको प्रहरी टोली, विशेष ब्यूरोबाट खटिएका सादा पोशाकका प्रहरी टोलीले हत्याको अनुसन्धान गरिरहेका छन्। तर हत्या अनुसन्धानको प्रगति भने शून्य अवस्थामा छ।
बयान लिएर छाडिएकाको डिएनए लिनेबाहेक भएन प्रगति
बालिका पन्तको बलत्कारपछि हत्याको घटना भएको लामो समय बितिसक्दा समेत अनुसन्धानमा प्रगति भएको छैन। हत्याको ३ दिनपछि कञ्चनपुर पुगेका सिआइबीका डिएसपी अंगुर जिसी लगायतको टोलीले १ सय २० जनाभन्दा बढी व्यक्तिसँग बयान लिएर कागज गराएर छाडेको थियो।
अहिले अनुसन्धानमा खटिएको प्रहरी तीनै व्यक्तिमाथि सोधपुछ गर्नुबाहेक खासै प्रगति गरेको देखिंदैन।
सुरुको अनुसन्धान टोलीले बयान लिएर छाडिएका व्यक्ति नै अहिलेको अनुसन्धान टोलीको लेन्समा छन्।
स्थानीयले हत्या बम दिदीबहिनीको घरमा भएको र उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए। तर त्यसेबला डिएसपी जिसीको टोलीले उनीहरुलाई पक्राउ नगरी तारेखमा राखेर अनुसन्धान गरेको थियो।
डिएसपी जिसी निलम्बनपछि खटिएको अनुसन्धान टोलीले बम दिदीबहिनीलाई भदौ ९ गते पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु ग¥यो। उनीहरु १८ दिनसम्म हिरासतमा बसेर निर्दोष देखिएपछि छाडियो।
बालिका पन्तको हत्यामा कञ्चनपुरकै तत्कालीन एसपी दिल्लीराज विष्टको छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको संलग्नता भएको भन्दै छानविन गर्नुपर्ने स्थानीयले माग गरे।
बलत्कार र हत्यामा उनीहरुको संलग्नता हुन नसक्ने भन्दै डिएसपी जिसीको टोलीले उनीहरुमाथि अनुसन्धान गरेको थिएन। तर पछिल्लो अनुसन्धान टोलीले उनीहरुको डिएनए परीक्षणसम्म गरेर होइन भनेको थियो।
सुरुको अनुसन्धान टोलीले लागू औषध दुव्र्यसनी प्रदीप रावल समूहका विशाल चौधरी लगायत १० जनासँग बयान लिएर छाडेको थियो। तिनै प्रदीप र विशालको अहिले डिएनए चेक गरेर बलत्कार र हत्यामा संलग्न भए÷नभएको प्रमाण खोजिंदैछ। यही समूहका एक जना गौरव चन्द नामका व्यक्ति भने पछिल्लो समय भारततिरै बस्न थालेको बताइन्छ।
विशाललाई भने छाडिसकिएको कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए। डिएसपी ओझाले भने, ‘बयान र सोधपुछको क्रममा उनको संलग्नता नदेखिएपछि छाडिएको हो। डिएनए भने आइसकेको छैन।’
कैलालीको मोहन्याल गाउँपालिका– ५ का २२ वर्षीय जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पनि जिसी नेतृत्वको टोलीले पक्राउ गरेको थियो। जीवनले ‘मैले खुकुरीले हानेर निर्मलाको हत्या गरेको हुँ’ भनेका थिए। पछि उनको संलग्नता नभएको पाइएपछि छोडिएको थियो।
अहिले पक्राउ परेका प्रदीपले पनि हत्या मैले गरेको हो भने बयान दिएको बताए पनि उनको डिएनए नमिलेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार सुरुको अनुसन्धान टोलीले सोधपुछ गरेर छाडेका राष्ट्रिय अनुसन्धान विभागका भट्ट र पन्त थरका दुई सिपाहीको पनि अहिले डिएनए परीक्षण गरिएको छ।
स्रोतका अनुसार बालिका पन्तको हत्या भएका बेला नजिकैको ब्यारेकबाट १६ जना सैनिक आउट गएका थिए। डिएसपी जिसीको टोलीले उनीहरुसँग सामान्य सोधपुछ गरेको थियो। तर अहिले डिएनए परीक्षण गरेर अनुसन्धान सुरु गरिएको स्रोतले बताएको छ।
सुरुमा अनुसन्धानमा खटिएका प्रहरीले अधिकारीको भन्दा फराकिलो दायरा अहिले अनुसन्धानमा खटिएका प्रहरीको देखिँदैन। पहिल्यै सोधपुछ गरेर छाडिएकाको डिएन लिनु बाहेक प्रगति देखिँदैन ।
अनुसन्धान साँघुरो
आइजिपी सर्वेन्द्र खनालले सिंहदरबारमा संसदको दिगो विकास समितिलाई जवाफ दिँदै अनुसन्धानको दायरा साँघुरो भएको बताएका थिए। उनीमात्रै होइन, अनुसन्धानमा खटिएका कञ्चनपुरका डिएसपी कृष्ण ओझाले समेत अनुसन्धान प्रगतिउन्मुख भएको बताएका छन्।
‘अनुसन्धानमा प्रगति नै भएन भन्न मिल्दैन। प्रगति भएको छ। तर रिजल्ट नआएसम्म त्यो प्रगतिको काम लाग्दैन,’ उनले भने।
बालिका पन्तको हत्या अनुसन्धानमा सिआइबीको टोली पनि खटिइरहेको छ। टोलीले पनि घटनाको अनुसन्धान गरेको छ। यसबारे सिआइबीका डिआइजी निरज शाहीले नेपाल लाइभसँग भने, ‘हाम्रो काम त्यहाँको लोकल प्रहरीलाई सपोर्ट गर्ने मात्र हो। केही टेक्निकल सपोर्ट चाहियो भनेको खण्डमा हामी सहयोग गर्छौं। अनुसन्धान न्यारो डाउन बन्दैगएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।