काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको कांग्रेस महाधिवेशनलाई लक्षित व्यंग्यात्मक टिप्पणीपछि नेपाली कांग्रेसका नेता सचिन तिमिल्सिनाले पनि सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक जवाफ दिएका छन्।
प्रधानमन्त्री शाहले आइतबार कांग्रेसको १५औँ महाधिवेशनमा आफूलाई लक्षित गरी भएको आलोचनाप्रति टिप्पणी गर्दै, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ लेखेका थिए।
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’
त्यसको जवाफमा तिमिल्सिनाले प्रधानमन्त्री शाहकै स्टाटसमा टिप्पणी गर्दै लेखेका छन्, ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ। प्रधानमन्त्री नै भए पनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’
तिमिल्सिनाको उक्त टिप्पणी प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति कांग्रेसबाट आएको व्यंग्यात्मक प्रतिक्रियाका रूपमा आएको हो।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा सभापति गगनकुमार थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। थापाको उक्त अभिव्यक्तिपछि शाहले सामाजिक सञ्जालमार्फत कांग्रेस महाधिवेशनमा आफूविरुद्ध भएको आलोचनालाई लक्षित गर्दै प्रतिक्रिया दिएका थिए।
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
त्यसपछि कांग्रेस नेता तिमिल्सिनाले प्रधानमन्त्रीकै पोस्टमा जवाफ दिँदै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएका हुन्। प्रधानमन्त्री र कांग्रेस नेताबीच सामाजिक सञ्जालमा भएको यो आदानप्रदानले राजनीतिक बहसलाई थप रोचक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।