काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन सत्रका अतिथि थिए– सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ।
आइतबार टुँडिखेलमा उनीहरूले सम्बोधन गरे । त्यस क्रममा कांग्रेसको आन्तरिक राजनीतिबारे बोले । पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाको अनुपस्थितिका कारण उनीहरूले कांग्रेसको आन्तरिक राजनीतिमा आफ्नो रणनीति बताउने मौका पाए ।
रविले कांग्रेसको विभाजनको चाहना प्रकट गरे भने प्रचण्डले एकता चाहे ।
रविले देउवा पक्षतिर लक्षित गर्दै गगनलाई दिएको सुझावमा कांग्रेस विभाजनको चाहना झल्किन्थ्यो ।
‘सधैँ कचकच गर्ने र हैरान पार्नेहरूलाई फकाएर ऊर्जा खेर फाल्नुभन्दा छोडिदिएकै राम्रो हुन्छ । ल, मैले गगनजीलाई अर्को गुन गरिदिएँ,’ रविले महाधिवेशनमा नआएको पक्ष कांग्रेसमा नजोडियोस् भन्ने चाहना प्रकट गर्दै भने ।
प्रचण्डले चाहिँ फरक कुरा गरे । उनले गगनसँग आग्रह गरे– ‘ती छुटेकाहरूलाई पनि साथै लिएर अघि बढ्नुहोस् ।’
कांग्रेसलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने सुझाव दिए ।
दुवैको कुरा सुनेका सभापति गगन थापाले देउवालाई महाधिवेशनमा छुट्टै कुर्सी राखिएको बताए । उनले महाधिवेशनपछि पनि छुटेकाहरूलाई जोडिने प्रतिबद्धता जनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।