काठमाडौं। बदलिएको राजनीतिक परिवेश र दलभित्रकै अन्तरविरोधबिच नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदैछ। महाधिवेशनमार्फत कांग्रेस हाक्ने नयाँ नेतृत्वमात्र चयन हुने छैन, मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दलले अब लिने राजनीतिक अजेण्डा पनि तय हुनेछ।
यसबाहेक कांग्रेस सबैभन्दा धेरै चर्चाको विषय बनेको छ युवाको बाक्लो उपस्थिति। गत वर्ष भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि नेपाली राजनीतिमा उदाएको युवापुस्ताको आकर्षणलाई कांग्रेस महाधिवेशनमा विशेष चासोको विषय बनेको छ।
यसपटक कांग्रेस महाधिवेशनमा देशैभरबाट युवाहरुको ठूलो सङ्ख्या महाधिवेशन प्रतिनिधिका रुपमा काठमाडौं आएका छन्।
सबैभन्दा ‘बुढो’ पार्टीमा करिब चालिस प्रतिशत युवाको उपस्थितिले कांग्रेसको आन्तरिक जीवनलाई भने जवान बनाउने अपेक्षा गरिएको छ। कांग्रेसभित्रको युवाको यस्तो आकर्षण बढाउन सभापति गगन थापामात्र नभएर केही प्रभावशाली नयाँ र युवा नेतृत्वको भूमिका पनि उत्तिकै महत्वपूर्ण देखिन्छ।
जसले कांग्रेसको भविष्यमात्र होइन, वर्तमानमा राजनीतिप्रति आशा जगाइरहेका छन्। महाधिवेशनमार्फत यो पुस्ता आफूलाई केन्द्रिय समितिमा प्रवेश गराएर पार्टी सुधारका आन्तरिक विषयमा पनि हस्तक्षेप गर्न खोजीरहेका छन्।
त्यस्तैमध्येका एक पात्र हुन्, इलामका निस्कल राई। देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आउँदा समेत इलाम–१ बाट प्रत्यक्ष निर्वाचित राई अहिलेको प्रतिनिधि सभामा प्रभावशाली उपस्थिति देखाइरहेका छन्।
उनले पहिलोपटक संसद यात्रामै दलको सचेतको भूमिकाको जिम्मेवारी समेत पाए। राईले संसदमा प्रस्तुत गर्ने तर्क र विषयले उनी छोटो समयमै राजनीतिमा नमेटिने छाप बनाईसकेका छन्। संसदमा उनले कांग्रेस मात्र नभएर बलियो प्रतिपक्षीको भूमिका पनि निर्वाह गरिरहेका छन्। यीनै राई नयाँ बन्ने कांग्रेस केन्द्रिय कार्यसमितिमा केन्द्रिय सदस्यका बलियो दाबेदार पनि हुन्।
विरगञ्जका कन्चन झा पनि कांग्रेसमा उदाएका नयाँ पुस्ताका अर्का नेता हुन्। खासगरी कांग्रेस पार्टी कार्यालयभित्र युवापुस्तालाई जोड्न नयाँ विषय र मुद्धामा बहस चलाइरहेका झा महाधिवेशनको तयारीमा पनि खटिइरहेका छन्।
बौद्धिक र तार्किक प्रस्तुतीले झालाई भविष्यमा मधेशमा कांग्रेसको जिम्मेवारी सम्हाल्नसक्ने व्यक्तिका रुपमा आँकलन पनि गरिन्छ। झा पनि यसपटक केन्द्रिय समितिमा प्रवेश गर्ने तयारीमा छन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका देशभरकै स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकार हो। जसको नेतृत्व सम्हालेका छन्, कांग्रेसका युवा नेता प्रकाश तिवारी।
सबैभन्दा कान्छा गाउँपालिका अध्यक्ष मध्येका तिवारी व्यावसायिक पृष्ठभूमिसहितका व्यक्ति पनि हुन्। स्टार्टअप, इन्नोभेसन र लगानी सम्बन्धि कम्पनीमा नेतृत्व दिइसकेका तिवारी राजनीतिको अध्ययन र विश्लेषणमा उत्तिकै सक्रिय छन्। तिवारीले पनि यसपटक आफूलाई केन्द्रिय सदस्यको रुपमा उभ्याएका छन्।
तिवारीले पालिका सुधारका लागि नविनतम कार्य अगाडी बढाएका छन्। पालिकालाई पर्यटनको हबका रुपमा बिकसित गर्नका लागि नेपालकै पहिलो नवग्रह मन्दिरको स्थापना समेत उनकै परिकल्पनामा निर्माण भएको थियो।
गण्डकी प्रदेशको तनहुँकी एलिजा ढकालले नेपाली कांग्रेसको विशेष महाधिवेसन अभियानलाई सफल बनाउन सक्रिय सहभागितामात्र जनाइनन् पार्टीको रुपान्तरण, पुनर्जागरण र आकर्षणका निम्ति देशव्यापी संवाद यात्रामा तत्कालिन महामन्त्री र हालका सभापति गगन थापासँगै सहभागी पनि भईन्।
नेपाली कांग्रेस, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा जातीय भेदभाव विरुद्ध सचेतना उपसमितिमा रहेर काम गरेको अनुभव पनि छ। युवाको ऊर्जालाई अग्रजको अनुभवसँग जोड्नका लागि पुस्ताबीचमा फाटो होइन, सहकार्य र सहास्तित्वको बाटो जरुरि हुन्छ भन्ने मूल मन्त्रसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन्।
कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको नेतृत्व गरिरहेकी धनकुटाकी करुणा कटवाल बदलिँदो काँग्रसको प्रतिनिधि पात्र हुन्। २७ वर्षमै कांग्रेसको प्रभावशाली सङ्गठनलाई नेतृत्व दिइरहेकी कटुवाल राजनीतिक गर्न चाहने युवाका लागि एउटा उदाहरण पनि हुन्।
यीनै कटुवाल युवापुस्ताको नेतृत्व गर्दै कांग्रेसकोको केन्द्रिय समितिमा आउने योजनामा जुटेकी छन्।
कांग्रेसलाई नयाँ पुस्ताकासँग जोड्ने बैतडीकी भूपी ऐर विद्यार्थी नेता हुन्। पद्यकन्या क्याम्पसमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सभापति निर्वाचित ऐर विद्यार्थीमाझ मात्र होइन कांग्रेसभित्रै पनि विस्तारै प्रभाव बढाउँदै छिन्। परिवर्तनलाई बुझेकी ऐर यसपटक कांग्रेसको कार्यसमितिमा प्रवेश गर्ने तयारीमा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।