काठमाडौं– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको आलोचनाप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दल नेता ज्ञानेन्द्र शाहीले त्यसको जवाफ फर्काएका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत ‘धन्न श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौँ; संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ ‘म नेपाली हुँ’ भन्न पाएका छौँ’ भन्दै टिप्पणी गरेका हुन्।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्य गरेका थिए।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सभापति गगन थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। त्यसपछि शाहले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका थिए।
शाहीले भने शाहको ‘धन्न’ शैलीकै प्रयोग गर्दै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको प्रसंग उठाएका हुन्। उनको टिप्पणीलाई प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रतिको राजनीतिक जवाफका रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।