काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाबीसहित दायर गरिएकाे मुद्दाको सुनुवाई सरेको छ।
तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव रामआधार साहले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको आदेशकाे अवहेलना गरेकाे भन्दै एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै निवेदन दायर गरेका थिए।
उक्त निवेदनको सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा पेसी ताेकिएकाे थियो। तर, निवेदक साहले उक्त मुद्दा स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ सरेको हो।
साह नेपाल नापतौल तथा गुणस्तर विभागमा रहँदा पेट्राेल पम्पमा डिजिटल मिटर जडान गर्न सहयोग गरी कालोबजारी र ठगी गर्ने कार्यमा मिलेमतो रहेको भन्दै पक्राउ गरेर मुद्दा दायर गरिएको थियो। तर, अदालतबाट सफाइ पाई काममा फर्काउनु भनि सर्वोच्चले आदेश गर्दासमेत कार्यान्वयन नभएको भन्दै साहले प्रधानमन्त्री ओलीविरुद्ध २०७५ मंसिर २७ गते अवहेलना मुद्दा दायर गरेका थिए।
निवेदनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मुख्यसचिव लोकदर्शन रेग्मी र सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई समेत विपक्षी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।